कास्की । नयाँ शक्ति नेपालको महाधिवेशन तयारी समितिको बैठक कास्कीमा सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ होमस्टेमा मंगलबार बिहानदेखि ९ बजेदेखि बैठक सुरु भएको हो ।
नयाँ शक्तिको प्रचार विभागका अनुसार बैठकमा २ सय प्रतिनिधि सहभागी छन् । बैठकका लागि होमस्टेका १४ घर बुकिङ गरिएका छन्। एउटा घरमा २० जनालाई राखिएको छ ।
होमस्टेमा बस्नका लागि प्रत्येक सहभागीबाट २ हजार रुपैयाँ उठाइएको छ । नपुगेको रकम कास्की जिल्ला समिति र केन्द्रीय कार्यालयले दिने विभागले जनाएको छ ।
सोमबार साँझ ल्वाङ पुगेर होमस्टेमा बसेका नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले माछापुच्छ्रेको फेदीमा रहेको गुरुङ गाउँको रमणीय र शान्त वातावरणमा हुने बैठक निकै रोमाञ्चक र सार्थक हुने बताएका छन् ।
तीन दिनसम्म चल्ले बैठकमा मंगलबार र बुधबार प्रतिनिधिहरुले आफ्ना कुरा राख्ने र बिहीबार संयोजक भट्टराईले जवाफ दिने कार्यक्रम छ । बैठकले पार्टीको आगामी रणनीति पनि बनाउने छ ।
पछिल्लो समय देशका विभिन्न भागमा होमस्टे लोकप्रिय बन्दै गएको छ । कुनै राजनीतिक दलले पार्टीको महत्वपूर्ण बैठक होमस्टेमा गरेको भने यो पहिलो घटना हो ।