पु.समाचार

अयोधिले भनेः निर्वाचन परिणाम सार्वजनिक गर्न सक्ने अवस्था छैन

काठमाण्डौ । निर्वाचन आयोगले संवैधानिक र कानुनी जटिलताका कारण तत्काल प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संविधान, कानुन, निर्वाचन नियमावली र निर्देशिका अनुसार पनि तत्काल प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न सक्ने अवस्था नरहेको प्रष्टयाएका हुन् ।

निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक गरी तत्काल नयाँ सरकार गठनका लागि मार्ग प्रशष्त गर्न माग गर्दै सोमबार आयोग कार्यालय पुगेका बाम गठबन्धनका युवा–विद्यार्थी नेतृत्वसँगको सामूहिक भेटमा उनले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न नमिल्ने अडान पनि दोहो¥याएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त यादवले संघीय संसदमा एक तिहाई महिला प्रतिनिधित्व सुनिश्चित गराउने संवैधानिक प्रावधान रहेकाले पनि प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न नमिल्ने कुरा बुझिदिन पनि सबैमा आग्रह गरे ।

प्रमुख निर्वाचन आयुक्त यादवले संवैधानिक निकाय भएकाले संविधानले निर्देश गरे अनुसार आयोगले आफ्नो कार्य सम्पादन गरिरहेको पनि स्पष्ट पारे ।