आर्थिक

जलविद्युतको सेयर निष्काशनमा नयाँ नियम, यस्तो छ नयाँ नियम

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीको सेयर निष्काशन गर्दा थप कडा प्रावधान ल्याएको छ । जलविद्युत कम्पनी निर्माणमा संस्थापकले बढी लगानी देखाउने र प्रतिफल कम पाउन थालेपछि बोर्डले सेयर निष्काशनमा नै कडाई गर्दै नयाँ प्रावधान ल्याएको हो ।

नयाँ प्रावधानअनुसार, अब जलविद्युत कम्पनीको सेयर निष्काशन गर्दा संचालन अवधि तीन वर्ष भएमा तीन वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार प्रतिसेयर खुद सम्पत्ति र प्रतिसेयर आम्दानी स्पष्ट देखिनेगरी अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने छ । त्यस्तै, जलविद्युत आयोजना भएमा प्रतिमेगावाट लागत, विद्युत उत्पादन अनुमतिको बाँकी अवधि, लगानी फिर्ता हुने अवधि समेत उल्लेख गर्नपर्ने भएको छ ।

प्रक्षेपित वित्तिय विवरण प्रमाणित गर्दा निष्काशनकर्ता संस्थाको लेखापरीक्षकले प्रक्षेपित वित्तिय विवरण ठीक रहेको स्पष्ट रुपमा प्रमाणित गर्नुपर्ने बोर्डले जनाएको छ । साथमा, संगठित संस्थाले विवरणपत्रमा प्रक्षेपण गरेको विवरणहरु तथा वास्तविक विवरण तुलनात्मक रुपमा वार्षिक तालिकामा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ ।