राजनीति

सभापति देउवा अप्ठ्यारोमा, युवा नेताको चेपुवामा यसरी फसे !

काठमाण्डौ । नेपाली काँग्रेसका सात यूवा नेताले चुनावको समीक्षा गर्न तत्काल केन्द्रीय समिति र महासमिति बोलाउनुपर्ने भन्दै वक्तव्य निकालेका थिए ।

‘निर्वाचनको सम्भावित परिणामबारे पूर्वाभास हुँदाहुँदै यस विषयमा हाम्रो नेतृत्व किन समयमै सचेत हुन सकेन ? तद्अनुकुल निर्वाचन रणनीति किन अख्तियार भएन? पार्टीका सबै तहदेखि भातृसंस्थाहरुको समुचित परिचालन किन भएन ? हामीले नेतृत्व गरेको सरकारले जनअपेक्षा अनुरूप काम गर्न किन सकेन ? यी र यस्ता अनेकौँ पेचिला प्रश्न हामीसामू छन्,’ वक्तव्यमा उनीहरूले भनेका थिए, ‘यस विषयमा पार्टीभित्र गम्भीर र निर्मम समीक्षा जरुरी छ । यसका निम्ति तत्काल केन्द्रीय कार्यसमिति र महासमितिको बैठक बोलाउन पार्टी नेतृत्व समक्ष माग गर्दछौं ।’

केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरूराज घिमिरे, गगन थापा, प्रदीप पौडेल र बद्री पाण्डेले आफू पनि बदलिने र काँग्रेसलाई पनि बदल्ने भन्दै उक्त वक्तव्य जारी गरेका हुन् ।

उक्त वक्तव्यमार्फत काँगेस हारका कारण खोजी गर्ने र आगामी दिनमा कांग्रेसलाई अझै बलियो बनाउने प्रण पनि उनीहरुले गरेका छन् ।
‘नेपाली काँग्रेसले आजका चुनौतीको सामना गर्न गम्भीर आत्मचिन्तन र विषेश तयारी गर्न आवश्यक छ ,त्यसका लागि पार्टीभित्र वृहत्तर एकता हुनुपर्छ । पार्टीका साथीहरूलाई न्यायको अनुभूति दिलाउन सक्नुपर्छ,’ वक्तव्यमा भनिएको छ ।

काँग्रेसका युवा नेता गगन थापाले नेतृत्वलाई महासमिति बैठक बोलाउ भनेको तर नेतृत्वले उदासिनता देखाएको आरोप लगाए । उनले पार्टीले अहिलेको अवस्थामा गर्नुपर्ने निर्णयहरु महासमिति र महाधिवेशनले बाहेक कसैले गर्न नसक्ने एक अन्र्तवार्तामा भनेका छन् ।

‘महासमितिको बैठक त्यसै पनि बोलाउनुपथ्र्यो यत्रो पार्टीको चुनाव भयो, त्यो मात्र हैन देशको राजनीति नै फेरिइसक्यो । मुलुक संघीय संरचनामा गैसक्यो। यति धेरै कुरा आइसकेपछि त महासमिति बैठक बोलाएर छलफल गरेर कतातिर जाने भन्ने एउटा बाटो खोज्नुपर्यो । यतिमात्र भए पनि गरौं भनेको हो, उनले भनेका छन्, ‘तर महासमितिमा के गर्ने त्यसले के गर्ने भन्ने कुरामा हाम्रा फरक फरक धारणा छन् पार्टीको संरचना पनि काम लागेन। पोलिसीमा पनि ठूलो डिपार्चर चाहियो, अर्को कुरा संविधान निर्माणपछि हाम्रो पार्टीको बाटो के हो त अब ? हाम्रो एजेन्डा पनि चाहियो भन्ने हो, विशेष महाधिवेशनबाट एउटा पुस्ताले नेतृत्व छोड्नुपर्छ भन्ने हो । नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने हो । जसको नेतृत्वमा २५ वर्षजति पार्टी चल्यो उहाँहरूले विशेष महाधिवेशनबाट अवकास लिनुपर्यो ।’

२०४८ सालपछि नेतृत्वमा रहेका पुस्ताले अब पार्टीको कार्यकारी पदमा हामी बस्दैनौं भन्नुपर्ने धारणा राखे । उनले विशेष महाधिवेशनमा पनि अहिलेकै नेतृत्व पुस्ता जान खोज्यो भने ०४८ सालपछि पार्टी नेतृत्वमा रहेको त्यो समूहले अब पाँच वर्षपछि हुने निर्वाचनबाट ठूलो पार्टी बनाउने दाबी गरे ।

‘उहाँहरूले त्यसरी छोड्नुभएन भने महाधिवेशनमा उहाँहरूलाई रोक्ने प्रयास गर्छौं, महाधिवेशन बोलाइन भने के गर्ने भन्ने हामीले छलफल गर्दै जानेछौं तर अहिलेको पहिलो प्रयास महासमिति बोलाउँ भन्ने हो’, उनले भने, ‘हामीले स्थापनाकालदेखि जे भन्दै आयौं अबको सन्दर्भमा नेपाली काँग्रेसले नयाँ परिभाषा खोज्नुपर्यो । राष्ट्रियता,प्रजातन्त्र र समाजवादको न्यारेटिभको नयाँ परिभाषा बनाऔं ।’

त्यस्तै काँग्रेसका युवा नेता विश्वप्रकाश शमाले पार्टीले चुनावमा नराम्रो हार व्यहोरेकोले यसको समिक्षा हुनुपर्ने माग गरे ।

‘पुस १६ गते मेलमिलाप दिवस हो । बीपी कोइरालाले मेलमिलाप नीतिलाई सम्झेर यही दिन हामी काँग्रेसीहरु पनि फेरि मिलेर जानुपर्छ ’, उनले एक अन्र्तवार्तामा भनेका छन् ।

विज्ञप्तिमा हस्ताक्षर गरेको सम्झिँदै उनले भने, ‘हामी जसले विज्ञप्तिमा हस्ताक्षर गरेका छौं, पार्टीभित्रको फरक फरक समूहमा छौं । लोकतान्त्रिक पार्टीभित्र प्रतिष्पर्धा र फरक मत हुनु सामान्य कुरा हो । तर जब पार्टी अप्ठेरो अवस्थामा पर्छ हामी एकै ठाउँमा उभिन्छौं ।’

‘अहिलेको समस्याको विवेकसम्मत उपचार गर्ने विधि केन्द्रीय समिति हुँदै महासमिति हो । एकैचोटि विशेष महाधिवेशन बोलाउन होइन, अहिलेको हारमा नेतृत्वको दोष छ, नेतृत्वबाट टिकट लिएर जानेको दोष छ, टिकट पाउने तर चुनाव नजित्ने मजस्ताको पनि दोष छ, मात्रा फरक छ तर हामी सबै दोषका भागिदार छौं, ‘उनले भने, ‘त्यही भएर हामीले पहिला केन्द्रीय समिति बैठक बोलाउन र त्यसपछि महासमिति बैठकमा पार्टी हारको कारण र आगामी योजना बनाउन माग गरेका छौं, हामी आफू नसुध्रिएर अमुक नेतृत्वमात्र सुध्रिनुपर्छ भन्ने पक्षमा म छैन, काँग्रेसलाई राम्रो बनाउन पहिला हामी सबै सुध्रिनुपर्छ ।’

त्यस्तै काँग्रेसका अन्य युवा नेताहरुले पनि काँग्रेसको नेतृत्व परिवर्तन हुनुपर्ने माग गरेका छन् । पार्टीको महाधिवेशन बोलाएर नयाँ नेतृत्व चयन हुनुपर्ने माग गरेका छन् । पार्टी नेतृत्व परिवर्तन नभए कडा कदम चाल्ने उनीहरुले चेतावनी दिएका छन् । पार्टीमा चौतर्फी दबाबका कारण देउवा यतिबेला तनावमा छन् ।

अर्का काँग्रेस नेता प्रकाशमान सिंले पनि चुनावमा पराजित हुनुका पछाडी सभापति देउवाको हात रहेको बताउँदै आएका छन् । उनले देउवाले पार्टी सभापतिबाट राजीनामा दिनुपर्नेसमेत माग गरे ।

त्यस्तै काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापति परिवर्तन हुनुपर्ने माग गरेका छन् । उनले बाबु बीपीको मेलमिलाप दिवसको अवसरमा यस्तो बताएका हुन् । आफूलाई पार्टीको नेतृत्व र प्रधानमन्त्री बन्नु नपरेको बन्दै आफ्ना पिताको पथमा रहेर पार्टीको संगठन सुदृढीकरणमा लाग्ने बताए ।

‘बिपीले बनाएको काँग्रेस संगठन धेरै तल झरिसकेछ,’ उनले भने, ‘हामीले हाम्रै संगठनलाई परिचालन गर्न सकेनौं ।’