कृषि

तेजपातले उचित मूल्य नपाउँदा कृषक मारमा

उदयपुर । तेजपातको उचित मूल्य नपाउँदा यहाँका कृषक मारमा परेका छन् ।

जिल्लामा तेजपात प्रतिकिलो रु २५ देखि रु ४० सम्ममा बिक्री भइरहेको छ । उचित मूल्य नपाउँदा आफूहरु मारमा परेको उदयपुरगढी मुर्कुचीका हर्कध्वज मगरले बताए ।

“सबै वस्तुको प्रत्येक वर्ष मूल्य वृद्धि हुने गरेको छ, तेजपातको मूल्य पाँच वर्ष यता वृद्धि हुन सकेको छैन,” उनले भने । व्यापारीले लामो समयदेखि तेजपातको मूल्य वृद्धि गर्न नमान्दा कृषक मारमा परेका हुन् ।

रौता नामन्तका राजकुमार मगर भन्छन्, “स्थानीय तहमा बजार छैन, बाहिर बिक्री गर्न ठेकेदार व्यापारीलाई दिनुपर्छ, उनीहरुले प्रतिकिलो रु ३० भन्दा बढी मूल्य दिन मान्दैनन ।” गत वर्ष र यस वर्ष उही मूल्यमा तेजपात बिक्री गर्नुपरिरहेको उनको भनाइ छ ।

स्थानीय तहका जनप्रतिनिधि तथा उद्योग वाणिज्य संघले कृषकको समस्याबारे ध्यान नदिँदा मर्कामा परेको कटारी–७ हर्देनीका शेषराज खत्री बताउँछन् ।

जिल्लाको मुर्कची, साउने, खाँबु, रौता, आँपटार, इनामे, डुम्रे र सल्ले तावाश्री क्षेत्रमा तेजपात उत्पादन हुँदै आएको छ ।

मयंखु, हर्देनी, सिरीसे, सोरुङ, रुपाटार, ओख्ले क्षेत्रका किसानले व्यावसायिक रुपमा तेजपात उत्पादन गर्दै आएका छन् । जिल्लाको राष्ट्रिय वनमा समेत तेजपात खेती शुरु गरेको सहायक वन अधिकृत लालबाबु यादव बताउँछन् ।

अहिले निजी र सरकारी वनमा गरी झण्डै दश हजार हेक्टर क्षेत्रफलमा वार्षिक छ लाख किलो तेजपात उत्पादन हुँदै आएको छ । सदरमुकाम गाईघाट र कटारी बजारमा खरिद गरिएको तेजपात स्थानीय बजारमा प्रतिकिलो रु ७० देखि रु ८० तथा विराटनगर, वीरगञ्ज हुँदै अन्यत्र रु १०० भन्दा बढी मूल्यमा बिक्री हुने गरेको छ ।