अन्तर्राष्ट्रिय

‘नयाँ वर्ष २०१८’ को शुभकामना दिँदै विश्वका यी पाँच नेताले के भने ?

काठमाण्डौ । नयाँ वर्ष २०१८ को आगमनसँगै विश्वभर धुमधाुमसँग मनाइँदैछ । नयाँ वर्षको शुभकामना दिँदै विश्वका शक्तिशाली राष्ट्रका राष्ट्रप्रमुखले शान्तिको बाटोमा डोर्याउन सबैलाई आग्रह गरे ।

सी जिनपिङ

चिनियाँ राष्ट्रपतिले आफूलाई ‘अन्तर्राष्ट्रिय नियमको रक्षक’ का रुपमा उभ्याएका छन् भने अमेरिकी राष्ट्रपतिले ‘मित्र, शत्रु र फेक न्युज’ का लागि पनि शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्षको अवसरलाई विश्व नेताहरुले गत वर्षका मुख्य उपलब्धि र आगामी वर्षको मुख्य ध्येय प्रकट गर्ने अवसरका रुपमा पनि प्रयोग गरेका छन् ।

‘सबै अन्तर्राष्ट्रिय मुद्दामा हाम्रो भनाइ राख्छौँ, बिआरआइ अघि बढ्छ’ चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ वर्षको पूर्वसन्ध्यामा एक सम्बोधन गर्दै आफ्नो देशलाई अन्तर्राष्ट्रिय नियमहरुको रक्षकका रुपमा उभ्याएका छन् ।

‘चीन एक जिम्मेवार विशाल राष्ट्र भएकाले विश्वका महत्वपूर्ण विषयहरुमा हामो धारणा हुने गर्छ,’ उनले भने । २०२० सम्ममा गरिबी उन्मुलन गर्ने लक्ष्यमा केन्द्रित हुन आह्वान गर्दै उनले भने, ‘जीवनस्तर उकास्ने हाम्रो काम थुप्रै ठाउँमा पर्याप्त भएको छैन । पार्टी संगठन, सरकार र सबै तहका कार्यकर्ताहरुको मुख्य ध्यान जनताको सुरक्षा हुनुपर्छ ।’

डोनाल्ड ट्रम्प

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ आफ्नो निजी क्लबमा विशाल पार्टी आयोजना गर्दै सन् २०१७ लाई विदा गरेका छन् । उनले आगामी साल ‘शानदार वर्ष’ हुने भविष्यवाणी पनि गरेका छन् ।

गतवर्ष थुप्रै जलवायु तथा व्यापारिक मुद्दाहरुबाट हात झिकेका ट्रम्पले ट्विटरमार्फत् भने आफ्ना ‘मित्र र शत्रु’ सबैलाई नयाँ वर्षको शुभकामना दिएका छन् ।

‘हाम्रो देश द्रूत गतिमा बलियो र चलाख बन्दै जाँदा म मेरो सबै मित्र, समर्थक, दुश्मन, घृणा गर्नेहरु, र यहाँसम्म कि बेइमान झुठा समाचार संस्थाहरुलाई नयाँ वर्षको शुभकामना दिन चाहन्छु । २०१८ अमेरिकाका लागि महान वर्ष हुनेछ ।’

भ्लादिमिर पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँवर्षको पूर्वसन्ध्यामा अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई शुभकामना दिँदै दुई देशबीच ‘व्यवहारिक सहकार्य’ हुनुपर्ने बताएका छन् ।

उनले विश्वमा स्थायित्व कायम गर्न पनि रुस र अमेरिकाबीच रचनात्मक संवाद हुनुपर्ने बताए ।

किम जोङ उन

उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको अवसरमा आफ्नो राष्ट्र आणविक शक्तिसम्पन्न राष्ट्र भएको घोषणा गरे ।

यद्यपि उनले आफूलाई ‘जिम्मेवार’ राष्ट्र भएको दाबी गर्दै आफूमाथि आक्रमण नभए सो हतियार कहिल्यै प्रयोग नगर्ने वाचा पनि गरे ।
तर आणविक हतियारको स्वीच सँधै ‘आफ्नै डेस्कमा हुने’ बताउँदै उनले अमेरिकालाई चेतावनी पनि दिएका छन् ।

नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नयाँवर्षअघि शुभकामना दिँदै युवालक्षित कार्यक्रम सार्वजनिक गर्ने बताए । उनले यो वर्षको अन्तिम ‘मन की बात’ कार्यक्रममा मतदान योग्य उमेर पुगेका युवाहरुलाई ‘नवभारतका युवा’ भन्दै उनीहरुले भ्रष्टाचार, जातिभेद र आतंकवादबाट मुक्तिको आधार तयार गर्ने आशा व्यक्त गरे ।