आर्थिक

सेयर बजारमा दाहोरो अकंले गिरावट, २९ कम्पनीका सेयरधनीले कमाए

काठमाण्डौ । गत सातादेखि नै गिरावटको क्रममा रहेको सेयर बजारले यो साताको सुरुवात पनि गिरावटबाटै गरेको छ । आइतबार नेप्से परिसूचक २४.२० अंकले घटेको छ । कारोबार खुलेको दुई घण्टामा १३८२ अंकसम्ममा झरेको बजार पछि सम्हालिएर १३९०.५८ अंकमा बन्द भएको हो ।

होटलबाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै बीमा समूह ८३.९ अंकले घटेको छ भने सबैभन्दा कम फाइनान्स समूह ३.२१ अंकले घटेको छ । बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः १६.३५, ४.३९, १६.७७, १२.२६, ८, ५५.८१ र ३७.५२ अंकले घटेका छन् । होटल भने ४.८८ अंकले बढेको छ ।

गत साता वृद्धिको क्रममा रहेको कारोबार रकम यो साता घटेको छ । दिनभरिमा १५८ वटा कम्पनीको १८ लाख २५ हजार एक सय ८२ कित्ता सेयर पाँच हजार चार सय ८४ पटक खरिदविक्री हुँदा ५८ करोड ७८ लाख २६ हजार आठ सय १० रुपैयाँको कारोबार भएको छ ।

एनसीसी बैंकको नौ करोड ६९ लाख, प्रभु बैंक प्रोमोटरको पौने चार करोड र स्टान्डर्ड चार्टर्ड बैंकको दुई करोडमाथिको सेयर कारोबार भएको छ । नविल बैंक, नागरिक लगानी कोष, महुली सामुदायिक लघुवित्त, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल टेलिकम, नेपाल बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।

जम्मा २९ वटा कम्पनीका सेयरधनीले आफ्नो सम्पत्ति बढाएका छन् । पोखरा फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.०८ प्रतिशतका दरले कमाएका छन् । हिमालयन डिस्टीलरी, सहयोगी विकास बैंक, नेपाल हाइड्रो, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सी, सिन्धु विकास बैंक, काबेली विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, ओम डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, नेपाल टेलिकमका सेयरधनीले ७.७१ प्रतिशत तथा श्री इन्भेष्टमेन्ट फाइनान्स, बरुण हाइड्रो, डिप्रोक्स डेभलपमेन्ट बैंक र नविल बैंकका सेयरधनीले छ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । निर्धन उत्थान बैंक, प्रभु बैंक प्रोमोटर, बोटलर्स नेपाल र समिट माइक्रोफाइनन्सका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीक दरले गुमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंक, गोर्खाज फाइनानस लगायतका सेयरधनीले पनि गुमाएका छन् ।