राजनीति

बाबुलाई सम्झिँदै शशांकले भनेः बिपीले बनाएको काँग्रेस धेरै तल झरिसकेछ, अब १ नम्बर पार्टी बनाउने हो

पोखरा । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले चुनावमा व्यहोरेको लज्जास्पद पराजयको प्रमुख कारण कमजोर संगठन भएको निश्कर्ष निकाल्दै अब पार्टी सुदृढीकरणमा लाग्ने घोषणा गरेका छन् ।

आइतबार पोखरामा भएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विशेषको कार्यक्रमलाई सम्बोधन गर्दै बीपीपुत्र कोइरालाले आफूलाई पार्टीको नेतृत्व र प्रधानमन्त्री बन्नु नपरेको बन्दै आफ्ना पिताको पथमा रहेर पार्टीको संगठन सुदृढीकरणमा लाग्ने बताए ।

‘बिपीले बनाएको काँग्रेस संगठन धेरै तल झरिसकेछ,’ कोइरालाले भने, ‘हामीले हाम्रै संगठनलाई परिचालन गर्न सकेनौं ।’

आफ्नो पहिलो उद्देश्य पार्टी बनाउनु रहेको उनले सुनाए । ‘मलाई पार्टी अध्यक्ष बन्छु भन्ने छैन, प्रधानमन्त्री बन्छु भन्ने पनि छैन,’ कोइरालाले थपे, ‘मेरो मुख्य उद्देश्य भनेकै अब पार्टीलाई संगठित गर्ने हो, काँग्रेसलाई पुनः एक नम्बर पार्टी बनाउने हो ।’

‘जे गर्दा पनि गाली नै गर्ने संस्कृतिबाट मुक्त बनौं, राम्रोलाई राम्रो भन्ने र नराम्रो गरे नराम्रै भन्ने गर्नुपर्छ हामीले, अब कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा हुन्छ, गाली गरेर मात्रै मुलुक सम्बृद्ध हुँदैन ।’

महामन्त्री कोइरालाले गठबन्धनबाट माओवादी अलग्याउने प्रयास सुरु गरिएको दाबी गरेका छन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अलग्याउन सकिन्छ भनेर केही दिनमा आफूले पहल सुरु गर्ने बताए ।

‘माओवादीका अध्यक्ष पुष्पकमल दाहालज्यूलाई फेरि हामीले गठबन्धनबाट अलग्याउने हो कि भन्ने पनि कुरा उठेका छन्,’ कोइरालाले थपे, ‘साथीहरुले मलाई आग्रह गरेका छन्, दाहालज्युसँग कुरा गर्नुस् भनेर एकचोटी कुरा गर्नुपर्ला ।’

त्यस्तै कोइरालाले हप्ता दश दिनमै केन्द्रीय समितिले चुनावी समीक्षा गर्न बैठक डाक्ने बताएका छन् । ‘म आफैंले अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई समीक्षा बैठक बोलाउनुस् भनेको छु,’ कोइरालाले भने, ‘सायद हप्ता १० दिनमै समीक्षा बैठक बस्छ र हामीले एउटा रणनीति बनाउँछौं ।’ काँग्रेसले सिट संख्याका आधारमा हारेकोजस्तो देखिए पनि काँग्रेस कहिल्यै नहार्ने महामन्त्री कोइरालाको दाबी छ । संगठनलाई मजबुत बजाउन नसक्नु, रणनीति तयार गर्न नसक्नु, प्रत्यक्ष टिकट वितरण र समानुपातिकमा पनि गलत भएका कारण कांग्रेसले हार ब्यहोरेको उनको भनाइ थियो ।

‘हामीसँग मूल्यांकन गर्ने सामाथ्र्य एकदम कमजोर रहेछ, हामीले मूल्यांकन गर्नै सकेनौं,’ कोइरालाले भने । देशमा समृद्धि ल्याउन सक्ने हो भने कम्युनिस्ट यसै हराएर जाने उनको भनाइ थियो । पार्टीको संगठन धेरै हदसम्म तल गिरिसकेको कोइरालाले बताए ।