कृषि

युवालाई व्यावसायिक बनाउन तरकारी र नगदे बालीमा अनुदान

कञ्चनपुर । विपन्न वर्गलाई स्वरोजगार बनाउनका लागि कञ्चनपुरको लालझाडी गाउँपालिकाको कृषि शाखाले व्यावसायिक तरकारी खेतीका लागि चार लाख ४० हजार अनुदान रकम प्रदान गरेको छ ।

विपन्न र सीमान्तकृत समुदायको जीवनस्तर माथि उठान युवा स्वरोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाका छ वटै वडाका ११ युवालाई ४० हजारका दरले अनुदान रकम प्रदान गरिएको हो ।

“अठारदेखि ५० वर्ष मुनिका व्यक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी आत्मनिर्भर बनाउनका लागि अनुदान रकम प्रदान गरेका छौँ”, कृषि शाखाका प्रमुख एकराज वलीले भने ।

अनुदान रकम परिचालन गरी पाँच बिगाहा भन्दाबढी जग्गामा काउली, बन्दागोभी, खुर्सानी, आलु, बेमौसमी काँक्रालगायतको खेती गरिएको छ ।

यसैगरी, प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत गाउँपालिकामा आठ वटा तरकारी, अन्न र नगदे बालीका पकेट क्षेत्र सञ्चालन गरिएको छ ।

प्रतिपकेट क्षेत्र सञ्चालनका लागि रु तीन लाखका दरले गरी रु २४ लाख रकम परिचालन गरिएको छ ।

पकेट सञ्चालन भएका क्षेत्र र युवा स्वरोजगार कार्यक्रम सञ्चालन भएका किसानलाई सिँचाइको सुविधा उपलब्ध गराउनका लागि गाउँपालिकाले साना सिँचाइ कार्यक्रमअन्तर्गत बोरिङ जडानका लागि १० वटा समूहलाई ६० हजारका दरले रकम उपलब्ध गराउने योजना अघि सारेको शाखा प्रमुख वलीले बताए । जनप्रतिनिधि आएपछि मात्रै गाउँपालिकामा व्यावसायिक तरकारी खेती र नगदेबालीका लागि अनुदान रकम उपलब्ध गराइएको पहिलोपटक हो ।

अनुदान रकमको सदुपयोग गरी युवाले स्वदेशमै रोजगारी पाउने र व्यावसायिक बनी आर्थिक अवस्थामा सुधार ल्याउने छन् गाउँपालिकाका प्रमुख मदनसेन वडायकले भने, “कार्य गर्न उत्साही युवालाई सहयोग गर्न सधैँ तत्पर रहेका छौँ ।”

विपद्का सूचना आदानप्रदान गर्न मोबाइल एप्लिकेशन

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले विपद्का सूचना आदानप्रदान गर्न मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको छ ।

रेडक्रसले सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत दोस्रो चरणमा मोबाइल एप्लिकेशन तयार गरिएको हो । यसअघि विपद्का सूचना आदानप्रदानका लागि पोकेट डायरी लेखिएका फोन नंमा फोन गरी सूचना आदानप्रदानको कार्य गरिँदै आएको थियो ।

विपद् जोखिम क्षेत्रमा पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन डायरीको सट्टा एप्लिकेशन सञ्चालनमा ल्याइएको हो ।मर्सिकोरका संयोजक सरोज ठाकुरले विपद्का सूचनाको प्रभावकारी आदानप्रदानका लागि मोबाइल एप्लिकेशन तयार गरिएको जानकारी दिए ।

पूर्वसूचना प्रणालीअन्तर्गत पोकेट डायरीबाट सूचना आदानप्रदान गर्दैै आएका थियौँ उनले भने, “डायरी नहेरी सूचना आदानप्रदान गर्न मिल्ने गरी एप्लिकेशन बनाएका छौँ, यो सजिलो र सहज छ ।”

उनका अनुसार इडब्लुएस कञ्चनपुर अपलोड गरी एक पटक मोबाइलमा डाउनलोड गरेर राखेपछि इन्टरनेटबिना एप्लिकेशन प्रयोगमा ल्याउन सकिने छ ।

एप्लिकेशनमा पूर्वसूचना प्रणालीअन्तर्गत विभिन्न स्थानमा कार्यरत स्वयंसेवक, सरकारी तथा गैरसरकारी निकायका नाम र नम्बर तथा विपद्सम्बन्धी जानकारी राखिएका छन् ।