पु.समाचार

पोखरा–बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्र

फलेवास । पोखरादेखि धौलागिरि अञ्चलका चार जिल्ला जोड्ने एकमात्र सडक पोखरा–बागलुङ राजमार्ग फराकिलो बनाउने वाम तीव्ररुपमा थालिएको छ ।

विगत लामो समयदेखि जीर्ण रहेको राजमार्ग वर्षांैदेखि टालटुलको भरमा चल्दै आएकोमा यस पटक बल्ल बृहत्रुपमा सुधार गर्न थालिएको हो । सडक विभागअन्तर्गतको मध्यपहाडी आयोजनाले राजमार्गलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भारलाई गति दिएको छ । आयोजनाको पश्चिम खण्डका प्रमुख सूर्यबहादुर भाटका अनुसार राजमार्ग पूरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्न थालिएको बताउनुभयो । अहिले चारवटा प्याकेज बनाएर राजमार्ग मर्मत सम्भारसहित विस्तार गर्न थालिएको भाटले बताए ।

बहत्तर किलोमिटर लामो पोखरा–बागलुङ सडक तीन वर्षमा धेरैजसो भाग पूरै नयाँ बन्नेछ । “पोखरा–बागलुङ राजमार्ग निकै नै अप्ठेरो भएको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम थियो” भाटले भने, “अबको तीन वर्षभित्र यो राजमार्ग पूरै नयाँ बन्नेछ । दोहोरो सवारी साधन चल्न मिल्ने गरी सडकले आकार लिनेछ ।” राजमार्ग विस्तार र मर्मतको काम गत कात्तिकदेखि शुरु भएको थियो ।

भाटका अनुसार यो आयोजना पोखराबाट शुरु हुनेछ । पोखराको जिरो किलोमिटरदेखि याम्दीसम्म छ किलोमिटर पहिलो र त्यसपछि घट्टेखोलासम्मको खण्ड दोस्रो भागमा पर्नेछ । घट्टेखोलादेखि नयाँ पुलसम्मको करिब २५ किलोमिटरलाई तेस्रो खण्डमा र नयाँपुलदेखि पर्वतको मालढुंगासम्मको खण्ड (२४ किमी) लाई अर्को खण्डमा बाँडेर मर्मत सम्भार र विस्तार गर्न थालिएको छ ।

उनका अनुसार पोखराको जिरो किलोमिटरदेखि याम्दीसम्म छ लेनको सडक तयार हुनेछ भने फेँदीसम्म पनि छ लेनको सडक बन्ने भएको छ । फेँदीदेखि घट्टेखोलासम्म नौ मिटर फराकिलो सडक बन्ने भएको छ ।

यो सडक विस्तार र स्तरोन्नति गर्न करिब रु तीन अर्ब ३२ करोड लाग्ने भएको छ । चारवटा निर्माण कम्पनीले काम गर्न थालेको भाटले जानकारी दिए ।

कास्कीको नयाँपुलदेखि पर्वतको कुश्मासम्मको खण्ड सबैभन्दा अप्ठेरो रहेको छ । ठाउँठाउँमा पहरो भएकाले चट्टान फुटाउन पनि समस्या रहेकाले विस्तारमा समय लाग्नसक्ने बताइएको छ । धेरै नै पहिले राजमार्ग बनिसकेकाले अहिले विस्तार गर्दा त्यसमा मुआब्जा कतै तिर्नुपर्दैन । पहिला नै सडकको केन्द्रदेखि १५ मिटर दुवैतिर मापदण्ड तोकिएको थियो ।

यो राजमार्ग पछिल्लो समय भाँसिने समस्याले ग्रसित हुँदै आएको छ । वर्षेनी मर्मत भएपछि भासिन नछाडेपछि सडक पूरै नयाँ स्वरुपमा विस्तार गर्न जरुरी थियो । यस सडकमा पर्ने पुल अझै साँघुरा भएकाले ती पुलको आकार बढाउनेबारे पनि छलफल भएको बताइएको छ ।

पोखरा–बागलुङ राजमार्ग करिब तीनदशक अघि चीन सरकारको सहयोगमा बनेको हो । चीनले उक्त राजमार्गलाई आव २०५०-५१ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

मर्मत सम्भार चलिरहेको सडकमा यतिबेला काँडेदेखि नयाँ पुलसम्मको सबै खण्ड अस्तव्यस्त भएको छ । मर्मत सम्भारले निर्माण सामग्री बाटोमा थुपारिँदा कतिपय खण्डमा एकतर्फी मात्र सवारी गुड्न सक्छन् । विस्तारको क्रमसँगै सवारी साधनको दोहोरो आउजाउ हुँदा काममा बाधा परेको बताइएको छ ।