विशेष

सान्दर्भिकताः राजा महेन्द्रको ‘कू’ र महामानब बीपी कोईरालाको मेलमिलाप नीति

काठमाण्डौ । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाइयो ।

तर, २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले ।

त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति लिएर स्वदेश फर्किए ।

भारतबाट नेपाली राजनीतिको यात्रा प्रराम्भ गरेका उनले त्यहाँबाट मात्र केही सिप नचलेपछि राष्ट्रिय मेलमिलापको नीतिसहित स्वदेश प्रवेश गरे । उनीविरुद्ध फाँसीसम्म हुन सक्ने सात–सात वटा मुद्दा थिए । जब उनलाई पुनः सुन्दरीजल जेल लगियो ।

२०१७ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्थ गरी गिरफ्तार गरेपछि आठ वर्षसम्म सुन्दरीजल सैनिक जेलमै बन्द गरिएको थियो । विश्वव्यापी दबाब र १५ मे १९६८ मा सुवर्णशमशेर राणाको वक्तव्यपश्चात् उनी रिहा भएका थिए । तर राजा महेन्द्र प्रजातान्त्रिक अधिकार दिने पक्षमा नभएको स्पष्ट हुन थालेपछि बीपी बाहिर बसेरै राजनीतिक दबाब सिर्जना गर्ने निष्कर्षमा पुगेका थिए । यसरी उनको आठ वर्ष लामो भारत निर्वासन पुनः प्रारम्भ भएको थियो । प्रारम्भमा उनी सशस्त्र संघर्षको बाटो लिनुभन्दा शान्तिपूर्ण उपायको खोजीमा भरमग्दुर लागे । अन्त्यमा सशस्त्र क्रान्तिका पक्षमा आवाज उठाउन थाले । त्यसपटक बीपीले आफ्नो गतिविधिको सम्पर्क केन्द्र भारतको वाराणसीलाई बनाएका थिए  ।

त्यसैबीच उनलाई क्यान्सर भएकाले चिकित्सकहरूले युरोप वा अमेरिकाजस्तो साधनसम्पन्न मुलुकतिर गई उपचार गराउन सल्लाह दिए । उनले राजासँग पासपोर्टका लागि अनुरोध गर्दा नपाएपछि भारत सरकारले दिएको परिचयपत्रका आधारमा लन्डन पुगे । नेपालमा प्रजातन्त्र पुनःस्थापना गर्नका लागि हतियार उठाउनुपर्छ भनी प्रस्टसँग आफ्नो धारणा राखे । उनले त्यसको ठीक एक वर्षपछि नेपालका तत्कालीन सैनिक अधिनायकवादी शासन व्यवस्थाविरुद्ध सशस्त्र आन्दोलन गर्नुपर्ने आवश्यकताबारे जोड दिँदै क्रान्तिपछि आफ्नो पार्टीले सत्ता चलाउने अवसर पाएमा संविधानसभा बोलाउने र प्रजातान्त्रिक आधारमा संविधान बनाउने आफ्नो संकल्प रहेको पनि प्रस्ट पारे ।

भारत निर्वासनमा रहँदा उनले भावी नेपाली राजनीतिका लागि सबभन्दा महत्वपूर्ण पक्ष प्रजातान्त्रिक आन्दोलनमा नयाँ तरुण पुस्ताको सहभागिता बढाए । त्यतिखेर तरुण पत्रिकाको प्रकाशनले नवीन विचार प्रवाहसँगै युवा, विद्यार्थीहरूको एउटा ठूलो समूहलाई आकर्षित गर्न सफल भएको थियो । देशका कुनाकुनासम्म बीपीका विचारोत्तेजक लेख, अन्तर्वार्ता र अपिलहरूले वैचारिक दृष्टिले झन्डै राजनीतिशून्य अवस्थाबाट गुज्रन लागेको एउटा सशक्त एवं नवीन पुस्तालाई प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शको प्रभाव दिन सफल भएको कुरा नेपाली राजनीतिको एक महत्त्वपूर्ण उपलब्धि थियो । सयौं तरुणहरू स्वतःफूर्त ढंगले रगतको सहीछाप गर्दै बीपीको आह्वानमा प्रजातान्त्रिक अधिकारका लागि लड्न तयार भएका प्रतिज्ञापत्रहरू तराई–मधेस मात्र नभई विकट पहाडी र हिमाली जिल्लासमेतबाट बनारस पुग्न थाले र सशस्त्र संघर्षका लागि तयारी भए ।

ओखलढुंगा विद्रोह, हरिपुर काण्ड र विराटनगर विमान अपहरणजस्ता चर्चित घटना र देशभरि सशस्त्र आन्दोलनको भूमिगत तयारीले निर्दलीय अधिनायकवादी शासनलाई गम्भीर चुनौती खडा गर्यो । क्रान्तिकारीहरूले गरेको भूमिगत तयारीले देशका भित्री भागसम्म जनमानसमा क्रान्तिको बीजारोपण गर्यो । नवीन शक्ति र उत्साहका साथ भएका परीक्षणहरूले निर्णायक विद्रोहका लागि मार्गप्रशस्त गरेको अनुभव बीपीले गरे । उनले भनेका थिए, ‘प्रजातन्त्रको संघर्ष सशस्त्र भए पनि गृहयुद्ध होइन, गृहयुद्ध वर्गसंघर्षमा हुन्छ  ।’

समाजमा जब एक आर्थिक वर्गको विरुद्ध अर्काे आर्थिक वर्गले शस्त्र उठाउँछ, अनि त्यो संघर्षले गृहयुद्धको रूप लिन्छ भनी प्रस्ट पार्दै उनले अहिले हाम्रो प्रजातान्त्रिक संघर्ष केवल एउटा व्यक्ति राजा महेन्द्रको अप्रजातान्त्रिक नीति र आचरणविरुद्ध तमाम जनताको सम्मिलित संघर्ष हो भनेका थिए ।

बीपीको उक्त मेलमिलापको कदमप्रति सबभन्दा गम्भीर टिप्पणी उग्र कम्युनिस्टहरूले गरेका थिए । तिनीहरूले स्वदेश प्रवेशको यस कदमलाई कम्युनिस्टविरुद्धको गठबन्धनको एक ‘डिजाइन’का रूपमा चित्रण गर्दै विरोध गरेका थिए साथै निर्दलीय व्यवस्थाका कट्टर हिमायती भन्ने उग्र पञ्चहरू पनि बीपीलाई फाँसी दिनुपर्छ सम्म भनेर विरोधमा उत्रिएका थिए । प्रारम्भमा बीपी आफ्नो राजनीतिक उद्देश्यमा असफल भएर लाज जोगाउन देशभित्र पसेकाजस्ता निम्नस्तरका टिप्पणी गरे ।

जतिजति समय बित्दै गयो, धेरैले उनका चिन्तनले मुलुकको समस्याको जरो छुन पुगेको अनुभव गर्न थाले । आफ्नै पार्टी नेपाली कांग्रेसभित्र पनि उनले उठाएको यो जोखिमपूर्ण कदम आत्मघाती हुने हो कि भनी आशंका गरी विरोध गर्नेहरू थिए । राष्ट्रिय मेलमिलाप सर्वप्रथम तिनै उग्र पञ्चहरू र उग्र कम्युनिस्टहरूका लागि धक्का बनेको थियो । उक्त नीतिले त्यतिखेरको सत्तापक्षको छोटो सोच र यसबाट मुलुकमा पर्न गइरहेको दूरगामी प्रभावबारे पनि जनमानसलाई सहज र सचेत गराउन थालेको कुरा राजा र पञ्चहरूको प्रतिक्रियाबाट स्पष्ट हुन्थ्यो ।

२०३३ पौष १६ गते आठ वर्ष लामो निर्वा्सित जीवन त्यागेर मेलमिलापको नीति लिएर स्वदेश फर्किएका बीपीले देशवासीका नाममा एक ऐतिहासिक अपील जारी गरेका थिए । उनले उक्त प्रतिज्ञापत्रमा भनेका थिए, ‘प्रजातन्त्र प्रति राष्ट्रको रक्षा दुवै जनताले लिनु परेको छ ।’

आठ वर्ष निर्वा्सित जीवन बिताएर फर्किएको दिनको सम्झनामा हरेक वर्ष मेलमिलाप दिवस मनाउने गरिन्छ ।

कतिपयलाई बीपीको राष्ट्रिय मेलमिलाप नीति ४१ वर्ष पुरानो लागे पनि आज पनि उत्तिकै समयसान्दर्भिक छ । उनी अब यस लोकमा शरीर भौतिक उपस्थितिमा नभए पनि उनका चिन्तनले अझै नेपाली राजनीतिको मार्गदर्शन भने ताजै छ ।