राजनीति

काँग्रेसलाई पनि सँगै लिएर जाने हो: अध्यक्ष दाहाल

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले छिमेकीले गरेको आर्थिक विकासबाट समेत नेपालले लाभ लिनुपर्ने बताएका छन् ।

ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आफ्नो सम्मान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू दोस्रो पटक प्रधानमन्त्री बन्दा नेपाल, चीन र भारतबीच त्रिदेशीय साझेदारीको कुरा अगाडि बढाएको र त्यसको समेत वातावरण बन्दै गएको विश्वास व्यक्त गरे ।

अर्को प्रसङ्गमा अध्यक्ष दाहालले भने, ‘वाम गठबन्धनको पक्षमा करिब दुई तिहाइ मत प्राप्त भएको छ । त्यो मतलाई हामी देश विकास र समृद्धिमा लगाउन प्रयत्नशील छौँ । जनताले पनि हामीबाट ठूलो अपेक्षा गरेका छन् । जनताको उक्त अपेक्षालाई हामी पूरा गर्छौं । कार्यान्वयनमा लैजान्छौँ ।’

‘दलहरुबीच मिलेर जाने वातावरण बनाउन मेहेनत गरिरहेको छु । काँग्रेस र एमालेसँग छलफल भइरहेको छ । काँग्रेसलाई पनि लिएरसँगै जाने हो, विकासका लागि के सत्तापक्ष के प्रतिपक्ष ?’

सबै दलहरु मिलेर देश निर्माण गर्नुपर्ने भन्दै उनले त्यसका लागिनै आफूले पहल गरिरहेको बताए । ‘सबै दलहरु मिलेर नै देश निर्माण गर्ने हो,’ उनले भने, ‘त्यसो गर्न सकिएन भने नेपालको भविष्य अप्ठेरोमा पर्छ ।’

उनले राजनीतिक स्थायित्व कायम गरेर देशलाई आर्थिक समृद्धिको दिशामा लैजान आफूहरु क्रियाशील रहेको बताउँदै अब सुशासन र विकासको युग शुरु भएको बताए। ‘आर्थिक समृद्धि, सुशासन तथा जनताको पक्षमा काम गर्ने जिम्मेवारी वाम गठबन्धनको काँधमा आएको छ’, उनले भने ।

नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाइ मत दिए पनि प्रतिपक्षमा रहेका दललाई समेत समेटेर लैजानेतर्फ आफू क्रियाशील रहेको उनको भनाइ थियो । सबैलाई मिलाएर देशलाई समुन्नतिको मार्गमा लैजाने भन्दा आफू र आफ्नो पार्टीको अरु कुनै लक्ष्य र उद्देश्य नरहेको उनको भनाइ थियो ।

टोल सुधार समितिले स्थानीय समस्या समाधानका लागि पहल गरिदिन, वाम गठबन्धन सफल बनाउन, मुलुकलाई आर्थिक समृद्धिको मार्गका लैजान र देशका तमाम समस्या समाधान गर्न अध्यक्ष दाहालसँग आग्रह गरेको टोल सुधार समितिका सदस्य गंगालाल तामाङले जानकारी दिए ।