राजनीति

समानुपातिक सांसद छनौटको विषयलाई लिएर काँग्रेसभित्र रडाँको ! माओवादी र राजपाबाट को–को परे ? (सूचीसहित)

काठमाण्डौ । समानुपातिक सांसद छनोटलाई लिएर काँग्रेसभित्र संस्थापन पक्ष र पौडेल पक्षबीच विवाद चर्किएको छ ।

दिनभरको चर्को विवादका बीच शुक्रबार राति करिब १० बजे कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले नाम टुंगो लगाई निर्वाचन आयोगमा सूची बुझाए पनि वरिष्ठ नेता रामचन्द्र पौडेललगायत असन्तुष्टि जनाउँदै ‘माइन्युट’ मा हस्ताक्षरसमेत नगरी बैठकबाट बाहिरिएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार प्रदेशसभा समानुपातिक सांसद टुंग्याउन बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ।

पौडेलका साथै कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य बलबहादुर केसीले हस्ताक्षर नगरेका हुन् ।

निर्वाचनमा पार्टीको लज्जास्पद हारपछि विशेष महाधिवेशन बोलाउन माग भइरहेका बेला पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पहिलोपटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका थिए । सदस्य छनोटका लागि बनाइएको मापदण्डविपरीत पार्टी संस्थापन पक्षले असन्तुलित ढंगबाट समानुपातिक सांसद छनोट गर्न लागेको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएको थियो ।

निर्वाचन आयोगले दिएको समयसीमा ३ बजेअघि नै काँग्रेसले उम्मेदवारबिनाको पत्र मात्रै बुझाएको थियो । बालुवाटारमा सांसद छनोट गर्ने विषयमा राति अबेरसम्म संस्थापन पक्ष र पौडेल पक्षबीच चर्काचर्की परेको थियो । पौडेल पक्षले समानुपातिक सूची बुझाउँदा आफ्ना पक्षलाई तल पारिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

‘केन्द्रीय कार्यसमिति बैठकले एकपटक समानुपातिक सुविधा लिइसकेकालाई नदोर्होयाउने निर्णय गरे पनि संस्थापन पक्षले एउटै व्यक्तिलाई तीनपटकसम्म समानुपातिक सांसदमा ल्याउने काम गरेको छ’, पौडेलनिकट स्रोतले भन्यो ।

देउवानिकट केन्द्रीय सदस्य प्रकाशशरण महतले भने क्रमागत नम्बरकै आधारमा क्लस्टर छुट्याएर प्रदेशसभा सदस्यको सूची बुझाइएको प्रतिक्रिया दिउँसै दिएका थिए, उनले सूची बुझाएको बताउँदा बालुवाटार बैठकमा भने सदस्य छनोटका लागि विवाद चलिरहेको थियो ।

राजपा र फोरमले बुझाए

राष्ट्रिय जनता पार्टी (राजपा) र मधेसी जनअधिकार फोरम नेपालले पनि समानुपातिक प्रदेशसभा सदस्य छनोट गरेका छन् । राजपाले प्रदेश २ मा १०, प्रदेश ५ र ७ मा एक–एक सदस्य छनोट गरेका हुन् । प्रदेश २ मा सात महिला र तीन पुरुष सिफारिस भएका छन् । राजपाले सूची भने औपचारिक रूपमा सार्वजनिक गरेको छैन । स्रोतका अनुसार प्रदेश २ मा राजपाले बबिता चौधरी, नीलमदेवी भूमिहारिन, अञ्जु कुमारी, पुनम यादव, डिम्पल झा, रामप्रवेश बैठा, लैला खातुन, रामनरेश राय, जानकी शरण साहको नाम सिफारिस गरेको छ । प्रदेश ५ र ७ को नाम भने गोप्य नै राखिएको छ ।

समानुपातिक सदस्य छनोटका विषयलाई लिएर असन्तुष्ट पक्षले राजपा कार्यालयसमेत तोडफोड गरेका छन् । फोरमले समानुपातिकमा प्राप्त सिट संख्या १३ जनाकै सूची पठाएको छ । फोरमले प्रदेश १ र ५ बाट २र२ सिट पाएको छ भने प्रदेश २ बाट ९ जना पाएको छ । त्यसअनुसार प्रदेश १ मा रामचन्द्र लिम्बू र रामकुमार यादव छन् । प्रदेश २ मा करिमा बेगम, भीमा यादव, सीमा सिंह, सञ्चोमाया मोक्तान, उषा राजकुमारी यादव, विन्दुकुमारी यादव, उपमा देव, चमेलीदेवी दास र किरणकुमारी यादवलाई छनोट गरिएको छ । प्रदेश ५ बाट गीताकुमारी श्रीवास्तव र लक्ष्मी चौधरीको नाम तय भएको छ  ।

माओवादीबाट को–को ?

माओवादी केन्द्रले प्रदेशसभाका समानुपातिकतर्फका सांसदहरूको नाम चयन गरेको छ । माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले शुक्रबार नाम टुंगो लगाएको हो । माओवादीले प्रदेशसभामा समानुपातिकतर्फ ३५ सिट पाएको छ । शुक्रबारै निर्वाचन आयोगलाई बुझाइएको नामावलीमा अधिकांश महिला छन् ।

सूचीअनुसार प्रदेश १ बाट सीता थेवे, कुशुमकुमारी श्रेष्ठ, शौभाग्य राई, सरस्वती पोखरेल र उमिता विश्वकर्मा, प्रदेश २ बाट जगतप्रसाद यादव, महम्मद समिर, रुविकुमारी कर्ण, प्रमिलाकुमारी यादव र फुलियादेवी सदा तथा प्रदेश ३ बाट दिनेश महर्जन, आङदेन्डी लामा, ओम घलान, हिमाली गोले, प्रतिमा श्रेष्ठ, सीता अधिकारी, भावना सुवेदी र कञ्चन खनाल छन् ।

यस्तै, प्रदेश ४ बाट गायत्री गुरुङ, मधु अधिकारी (गुरुङ), दिलमाया रोकामगर (गौतम), प्रदेश ५ बाट गीता थापा, दामाकुमारी शर्मा, पार्वती पुन (गहतराज), लौटी थारू, दीपा विक र सुष्मा यादव, प्रदेश ६ बाट पुष्पा घर्ती बिष्ट, सीताकुमारी नेपाली, विमला केसी र कृष्णा शाह तथा प्रदेश ७ बाट निर्मला बडाल (जोशी), कुन्ती जोशी, विनिता चौधरी र शान्ति नेपाली छन् ।