साहित्य

युयुत्सुका कवितामा छयालीस साल

काठमाडौँ । कवि तथा अनुवादक युयुत्सु शर्माद्वारा लिखित ‘सम फेमेल यती’(केही पोथी यती) शीर्षक कवितासङ्ग्रहको नयाँ संस्करण प्रकाशनमा आएको छ ।

निराला प्रकाशन नयाँदिल्लीले यसअघि विसं २०५१ मा प्रकाशनमा ल्याएको सो सङ्ग्रहमा नेपालको छयालिस सालको आन्दोलन, गोपालप्रसाद रिमाल, प्रजातन्त्र, बुद्ध, शिवरात्रि, तिहार, काठमाडौँ, पशुपतिनाथ, स्वयम्भू आदि शीर्षक र विषयवस्तुका २१ कविता छन् । ‘पहाडको अर्थ’ र ‘अग्निउत्सव’ शीर्षकमा विभाजित ती कवितामा व्यक्तिगत र सार्वजनिक विषयबाट मानवीय सङ्घर्ष र मानवीय पीडाबारे अभिव्यक्ति दिइएको छ ।
आफ्ना प्रिय कवि रिमालबारे उनी यसरी पोख्छन् ।

म अभिवादन गर्छु कवि तिमीलाई,
देशका भकभके राष्ट्रपिताहरूप्रतिको
तिम्रो अनाकर्षणलाई
जसले तिमीलाई भयावह अजिङ्गरै अजिङ्गरहरूको
धमिरा लागेको राजधानीका
अन्धा गल्लीहरूमा लँगडो र
पागल अवस्थामा एक्लै छाडे
–––
म तिम्रो पुनर्आगमनलाई सलाम गर्छु –कवि !
इतिहासको दुर्गन्धित रछ्यानबाट उठेर
घोषणा गर्ने तिमीलाई—
एक जुगमा एक दिन एकचोटि आउँछ ।
सङ्ग्रहले कोही मारिएका, कोही बलात्कृत भएका र मानवअधिकारको घोर उल्लङ्घन भएको छयालीस सालको आन्दोलन र त्यसपछिको विकृतिलाई फेरि सम्झाउँछ । विम्ब र प्रतीकका माध्यमबाट थोरै शब्दमा अभिव्यक्त उनका कविताको क्लिष्टताले पाठकलाई कविता दोहो¥याएर पढ्न भने बाध्यता गराउँछ । यसअघि विशेषतः नेपाल र यहाँको हिमाली संस्कृति तथा गोरखा भूकम्प आदिबारे लेखिएका उहाँका नौ कवितासङ्ग्रह र केही अनुवाद प्रकाशन भइसकेका छन् ।