आर्थिक

दिनप्रतिदिन बजारमा त्रास, शेयर बजारको लगानी घट्दै

बनेपा । दुई सातादेखि निरन्तर ओरालो लागेको शेयर बजार परिसूचक नेप्सेको प्रभाव मोफसलको शेयर बजारमा पनि पर्न थालेको छ ।

मोफसलमा खुलेका ब्रोकर कार्यालयका शाखामा शेयर बजारप्रति आकर्षण घटेका कारण लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । काभ्रेपलाञ्चोकको बनेपा बजारमा रहेका दुईवटा ब्रोकर कार्यालयले दिएको जानकारीअनुसार लगानीकर्ता अहिले ‘हेर’ र ‘पर्ख’ को रणनीति बनाउँदै छन् ।

खचाखच भरिने बनेपाका ब्रोकर कार्यालय सुनसान जस्तै देखिँदा यस क्षेत्रका लगानीकर्तामा शेयर बजारप्रतिको उत्साह कम देखिएको छ । बनेपाको भिजन सेक्युरिटिज प्रालि ९३४० नम्बरले यस साता चार दिनको अवधिमा ७४ हजार ९०५ कित्ताको रु तीन करोड ४५ लाख १२ हजार ४८१ बराबरको कारोबार गरेको छ । सो सेक्युरिटिज प्रालिले यसअघि ७२ हजार सात कित्ताको रु पाँच करोड २६ लाख ४६ हजार २०१ बराबरको कारोबार गरेको थियो ।

“बैंकले गरेको ब्याजको वृद्धि, नयाँ सरकार निर्माणमा भएको ढिलाइको प्रभाव यहाँ पनि परेको छ ।” बनेपाको भिजन सेक्युरिटिज प्रालि ९३४० नम्बरका प्रमुख प्रकाश अधिकारीले भने । उनले वाणिज्य बैंक, माइक्रोफाइनान्सजस्ता कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको उल्लेख गर्दै शेयर बजारका लागि काठमाडौँ जाने लगानीकर्ताले पनि बनेपाबाट नै कारोबार गरेको बताए ।

बनेपाको क्रियटिभ सेक्युरिटिज प्रालि (४०) नम्बर ब्रोकर कार्यालयले पनि यस सातामा रु एक करोड ६८ लाख ५० हजार ७३३ बराबरको मात्रै कारोबार गरेको छ । उक्त सेक्युरिटिज प्रालिले अघिल्लो साता रु दुई करोड १२ लाख २६ हजार ६४६ बराबरको कारोबार गरेको थियो ।

बनेपाको क्रियटीभ सेक्युरिटिज प्रालि (४०) नम्बरका प्रमुख राजेन्द्र मर्हजनले शेयर बजारमा गिरावट आएपछि लगानीकर्ता शेयरमा लगानी गर्न हिचकिचाइरहेको जानकारी दिए । धुलिखेल, पनौती, पाँचखाल, भक्तपुर लगायतका क्षेत्रबाट शेयर कारोबार गर्न लगानीकर्ता बनेपा आउँछन् । बनेपामा तीनवटा ब्रोकर कार्यालयले शेयर खरिद, बिक्रीको काम गर्दै आएका छन् । शेयर बजार बढ्दा बनेपाका ब्रोकर कार्यालयमा रु छ करोडदेखि रु १० करोडसम्मको कारोबार हुँदै आएको थियो ।