राजनीति

देउवा सरकारले गरेका निर्णय ओली सरकार उल्ट्याउँछः नेता ज्ञवाली

भक्तपुर । नेकपा एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै वामगठबन्धनको सरकार गठन हुने बताएका छन् ।

रफत सञ्चार क्लबमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले माघ पहिलो सातमै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

उनले एमाले र माओवादीबीच बृहत छलफल र बहस भइरहेको कारण सरकार गठन लगत्तै पार्टी एकीकरण हुने दाबी गरेका छन् । पार्टी एकीकरणमा कुनै शंका नगर्न आग्रह गर्दै उनले अब बन्ने सरकार स्थायी सरकारका रुपमा रहेन पनि बताए ।

अहिलेको काम चलाउ सरकारले गरेका सबैखाले निर्णय र नियुक्तिहरु गैरकानूनी र नैतिकता विपरीत रहेको उनले बताए । ‘यो गतल काम हो’ उनले भने, ‘नयाँ सरकारलाई काम चलाउ सरकारले अहिले गरेका निर्णय सबै बदर गर्नेछ ।’

उनले अहिले सरकारमा जाने टोलीमा क्षमता र योग्यताका आधारमा राम्रो व्यक्तिहरु जाने भन्दै यदि उक्त टोलीले जनताको चाहाना अनुसार काम गर्न नसकेको अबस्थामा हेरफेर गर्न सकिने पनि बताए ।

नेता ज्ञवालीले जनताको अभिमतबाट तल परेको कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई ५ वर्षका लागि प्रधानमन्त्री बन्न भनी राखेको प्रस्ताव राजनीतिक कुसंस्कार र देशमा अस्थिरता कायम गर्ने खेल भएको आरोप लगाएका छन् ।

कामचलाउ सरकारका प्रधानमन्त्री देउवाले राखेको उक्त प्रस्ताव अध्यक्ष दाहालले अस्वीकार गरेको उनले बताए । कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले राष्ट्रिय सभाको अध्यादेश राष्ट्रपतिले अहिले नै प्रमाणिकरण गर्नुपर्ने बाध्यता नरहेको बताए ।

सरकार गठन र अध्यादेश फरक पाटो भएकोले अध्यादेश प्रमाणिकरणमा राष्ट्रपतिलाई दबाब दिन नहुने उनको भनाई छ । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक तर्फको मत परिणाम तत्काल सार्वजनिक गर्नुपर्नेमा उनले जोड् दिए ।

सचिव ज्ञवालीले समग्र भूगोल, जनसंख्या र जनभावना अनुसार प्रदेश राजधानी प्रदेश सभाले नै तोक्नुपर्ने बताएका छन् । उनले राजधानीका लागि भौतिक पुर्वाधार भएको स्थान अथवा नयाँ ठाउँलाई विकास गर्ने भन्ने बिषयमा छलफल भइरहेको बताए ।