राजनीति

कांग्रेसले सरकार निर्माणमा असहयोग गर्योः नेता नेपाल

काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ सरकार बनाउने काममा कांग्रेसले असहयोग गरेको आरोप लगाएका छन् । मतदाताको नयाँ म्यान्डेटलाई स्वीकारेर लोकतान्त्रिक चरित्र देखाउन नेपालले कांग्रेस सभापति देउवालाई आग्रह गरेका छन् ।

पार्टी प्यालेस तथा क्याटरिङ संघ काठमाण्डौले काठमाण्डौ जिल्लाबाट प्रतिनिधिसभाका लागि निर्वाचित सांसदहरुलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा नेता नेपालले वाम गठबन्धनको अत्याधिक बहुमतबाट आत्तिएको भन्दै कांग्रेसलाई संयमित रहन आग्रह गरे ।

‘बाहिर हल्ला भएजस्तो वामले निरंकुश व्यवस्था ल्याउँछ कि भनेर डराउनु पर्दैन’, नेपालले भने, ‘हामीले त्यस्तो कुनै उतारचढाव ल्याउँदैनौं ।’

पार्टी एकिकरणको प्रसंगमा नेता नेपालले त्यो आफूले मात्रै बोलेर नहुने विषय रहेको भन्दै माओवादीसँग छलफल भैरहेको जानकारी दिए । अब राष्ट्रपति हुने पालोमा हो भन्ने पत्रकारको जिज्ञासमा नेता नेपालले आफू पार्टीको निर्देशन बमोजिम चल्ने प्रतिक्रिया दिए ।

संसदमा विचाराधिन रहेको सामाजिक सुधारक ऐनलाई परिमार्जन गर्नुपर्ने पार्टी प्यालेस तथा क्याटरिङ्ग संघको मागप्रति नेता नेपालले अब बन्ने सरकारले आवश्यक कदम चाल्ने आश्वासन दिए ।

कार्यक्रममा संघका उपाध्यक्ष विष्णु भण्डारी, महासचिव उत्तम प्रकाश शर्मा, सदस्य कृष्ण पाण्डेलगायलते विवाहमा जन्ती र भोजमा उपस्थितीको संख्या तोक्ने सामाजिक सुधारक ऐन अवैज्ञानिक रहेको भन्दै त्यसलाई कार्यान्वयनमा लैजान नहुने धारणा राखेका थिए ।