राजनीति

उपमेयर खड्गी भन्छिन्ः मेयर साब ! तपाईले मलाई सँगै लिएर हिड्नु पर्दैन

काठमाण्डौ । पछिल्लो समय काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीचको विवाद मिडियामा आएपछि छताछुल्ल भएको छ ।

रानीपोखरी पुनःनिर्माणको विषयलाई लिएर केही दिनदेखि मेयर शाक्य र उपमेयर खड्गीबीच विवाद देखिएको छ । भूकम्पका कारण भत्किएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर पुनःनिर्माणमा कंक्रिटको प्रयोग गरिएकाले उपमेयर खड्गीले उक्त कार्यको विरोध जनाइरहेकी छन् ।

किन रानीपोखरीको विषयमा विवाद गर्नु भएको भन्ने सूर्यखबर डट् कमको प्रश्नमा उनले भनिन्, ‘यो विवाद होइन, विवादको रुपमा लिइयो, हिजो म रानिपोखरीको अवलोकन गर्न गएँ । तर ऐतिहासिक धरोहरमा कंक्रिटको प्रयोग गरेको पाएँ, विज्ञले कंक्रिट प्रयोग भइरहेको छ भनेपछि म त्यहाँ कंक्रिट प्रयोगबारे राक्न गएकी थिएँ । उक्त विवाद जनआक्रोशमा पनि कायमै थियो । म गएपछि सबै आए म निरीक्षण गरेर त्यसै फर्किएँ । म हुन्जेल ताला लागेको थिएन । मिडिया पनि थिए । मैले ताला लगाएको भए मिडियाले देखाउन सक्थे । ताला लागेको कुरा मेयरसाबले फोन गरेर भन्नुभयो किन ताला लगाउनु भयो तपाईले ? मैले लगाएको होइन मलाई थाहा छैन भने । म किन लगाउनु मेयरसाब ? भनेपछि उहाँले तपाई यहाँ आउनुपर्यो भनेपछि म भर्खरै गएर आएको अहिले आउँदिन भने तर म उहाँको डरले नगएको भने होइन । मिडियाले गलत लेखे ।’

उक्त पुनःनिर्माण कार्यमा मेयरले एक लौटी निर्णयबाट गरेको गुनासो गरिन् । महानगरमा हुने गरेका हरेक निर्णय मेयर शाक्यले एकलौटी रुपमा गर्ने गरेको उनको आरोप छ । पूरातत्व विभागले स्वीकृति दिएको भए पनि विभागले कंक्रिट हालेर बनाउन भने स्वीकृति नदिएको उनको दाबी छ । उनले विभागले कंक्रिट हाल्न अनुमति नदिने र दिएको भए आफूले उक्त काममा अवरोध नगर्ने र सुचारु गर्न दिने बताइन् । पूरातत्व विभागको निर्णयविरुद्ध आफू कहिल्यै नजाने धारणा राखिन् । उनले आफूले पहिले नै उक्त कार्यको अनुगमन नगर्लाले कंक्रिट प्रयोग भएको भन्दै आफ्नो पनि गल्ति रहेको स्वीकार गरिन् । मेयर शाक्यले आफूलाई केही जानकारी नदिई अवैध रुपमा कंक्रिट प्रयोग गरेकोमा आक्रोश पोखिन् ।

हिजो(मंगलबार) केही मिडियामा आएको मेयरको भनाईलाई लक्षित गर्दै उनले भनिन्, ‘उहाँले एक मिडियामा भन्नुभयो उपमेयर साबले लिएको निर्णय ठिक छ । म उहाँको कदममा साथ दिन्छु, कंक्रिट हामीले हाल्न भनेका छैनौं । यस कामका लागि मेरो विचारमा मेयरले मलाई धन्यवाद दिनुपर्छ ।’

के हो मेयर र उपमेयरबीचको झगडाको खास कारण ?

मेयर शाक्यले आफूलाई केही निर्णय नसुनाइ एकलौटी रुपमा गर्दै आएको उनको आरोप छ । उनले मेयरसँगको विवादको खास कारण खोल्दै भनिन्, ‘ हामी दुईका बीचमा कम्युनिकेशन हुनुपर्यो, हुनत उहाँलाई पनि तनाव होला । हाम्रो छुट्टाहुट्टै ठाउँमा अफिस छ । हामी के गर्दै छौं भन्ने कुराको जानकारी मलाई पनि दिनुपर्यो उहाँले मलाई बोलाउनु पर्यो, नबोलाए पनि मलाई इन्भल्भ गराउनुस् भनेकी छु । सही कामको सपोर्ट गर्दै भोली जनताले मलाई साथ दिनेछन् । मैले उहाँलाई हरेक कार्यक्रममा सँगै लिएर हिँड्नुस् भनेकी छैन । महानगरका ठूला निर्णयहरुबारे मैले पनि थाहा पाउनुपर्छ । हरेक निर्णय जनताले थाहा पाउनुपर्छ मात्र भनेकी हुँ । हरेक गतिविधिको जनताले थाहा पाउनु जनताको अधिकार पनि हो, होइन र ?’

उनले अन्य आन्तरिक कुराबारे पनि गुनासो पोखिन् । भर्खरै सम्पन्न महानगरिय दिवसमा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमाणपत्र वितरण गर्ने विषयमा मेयर, कार्यकारी अधिकृतको हस्ताक्षर रहेको तर आफ्नो हस्ताक्षर छुटेको विषयमा मेयरलाई सोध्दा पन्छिन खोजेको आरोप लगाइन् ।

उनले मेयरसँग कनै विवाद नरहेको तर उहाँको एकलौटी निर्णय अन्त्य हुनुपर्ने बताइन् । महानगरपालिकाको मोबाइल काण्ड पनि मेयरको एकलौटी निर्णयबाट भएको बताइन् । मेयरले मोबाइल वितरण गरेको काण्डामा विवाद आएपछि मेयर शाक्यले उपमेयरलाई सोधेका थिए, ‘उपमेयरसाप निर्णय फिर्ता लिनुपर्यो’ तर, उपमेयरले त्यसबेला पहिले आफूलाई नसोधी एकलौटी निर्णय गरेकाले आफू पन्छिएको बताइन् । त्यसपछि मेयरले रुदै गुनासो गरेकाले आफूले महिला भएका नाताले निर्णय फिर्ता लिन सहयोग गरेको पनि खुलस्त पारिन् । साथै उनले आफूहरुबीचको विवाद छिट्टै समाधान हुनेमा विश्वास व्यक्त गरिन् । उनले मेयर शाक्यले आफूलाई नबोलाए पनि आफूले नै समन्वय गरेर अगाडि बढ्ने बताइन् ।