राजनीति

नेपाली क्रान्ति मौलिकतासहित नयाँ चरणमा प्रवेश गरेको छः अध्यक्ष दाहाल

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नै विशिष्टता र मौलिकतासहित नेपाली क्रान्ति नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सर्वहारावर्गका नेता एवम् विचारक माओत्सेतुङको १२४औँ जन्मजयन्तीका अवसरमा आज एक सन्देश प्रकाशित गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै नेपाली समाजको युगान्तकारी परिवर्तन भएको उल्लेख गरे ।

अध्यक्ष दाहालको सन्देशमा भनिएको छ, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीतासहितका उपलब्धिको जगमा संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि सामाजिक, आर्थिक रुपान्तरणलाई साकार पार्ने कार्यमा लाग्नु र प्राप्त उपलब्धिको जगमा क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नु क्रान्तिकारीहरुको साझा दायित्व हो ।’

उनले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै क्रान्तिकारी धु्रवीकरण र एकता प्रक्रियाबाट नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नु आजको आवश्यकता भएको बताए ।

चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात् १८९३ डिसेम्बर २६ मा माओत्सेतुङको जन्म भएको थियो । माओ चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी चीनका संस्थापक थिए । उनी संसारभरिका राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजश्र स्रोत रहेको सन्देशमा उल्लेख छ ।

उनले क्रान्तिकारीलाई वित्तीय पुँजीको भूमण्डलीकरण र साम्राज्यवादको नवउदारवादी आर्थिक नीतिको प्रभाव, सूचना प्रविधिमा भएको अभूतपूर्व क्रान्ति, मौसम परिवर्तन, पर्यावरण विनाशको प्रभाव, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा, माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका निमित्त गहन अध्ययन, अनुसन्धान र बहसमा जुट्न आग्रह गरेका छन् ।