पु.समाचार

विश्व कीर्तिमानी युवा अर्पण शर्मालाई ज्यान मार्ने धम्की

काठमाण्डौ । ३ महिनायता केही व्यक्तिका कारण आफू र आफ्नो परिवार चरम मानसिक तनाव डुबिरहेको विश्व कीर्तिमानी युवा अर्पण शर्माले बताएका छन् ।

फेसबुकमा निकै लामो स्टाटस लेखेर अर्पणले उक्त कुराको खुलासा गरेका हुन् । स्मरण शक्तिमा विश्व कीर्तिमान बनाएर गिनिज बुकमा नाम लेखाएका झापा भद्रपुर घर भएका अर्पण हाल काठमाण्डौमा बस्दै आएका छन् । ‘मेरो भाइलाई पटक–पटक फोन गरेर ती व्यक्तिले धम्क्याउँदै छन्,’ अर्पणले भनेका छन्, ‘त्यही धम्कीका कारण बुबाआमाको आँखामा आँसु देख्दैछु, आँसुले मलाई भावनात्मक रुपमा कमजोर बनाइरहेको छ ।’

झापा स्थाई बसोबास भएका अर्पण विश्व कीर्तिमान कायम गरेयता काठमाडौँमै बस्दै आएका छन् । बाबुआमालाई पनि अर्पणले नै झापा नबस्न आग्रह गर्दै गत बैशाखमा काठमाण्डौ लगेका थिए । ‘काठमाण्डौमा मसँगै राखेर खुसी दिने सपना बोकेको थिएँ,’ अर्पणले भने, ‘तर, काठमाण्डौ आएदेखि उहाँहरुलाई तनावबाहेक केही छैन ।’

धम्की दिने सबैलाई आफूले राम्ररी चिनिसकेको अर्पणको दाबी छ । उनले सबैको नाम प्रहरीमा दिएका छन् । प्रहरीले उनलाई नाम सार्वजनिक नगर्न भनेको छ । अर्पणको अनुमानमा धम्की दिने ती व्यक्तिहरुमध्ये एउटा बोस हुन सक्छ । बाँकी सबै उसका चेलाहरु हुन सक्ने उनले बताए । उसले आफ्नो दूतहरुबाट भयानक सन्देशहरु पठाउँदै छ, यहीँ बीचमा दूतहरुबाट धेरै चेतावनीहरु पनि आए,’ उनले भने ।