राजनीति

एमालेले माओवादीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री नदिने, काँग्रेससँग मिलेर यसरी पुग्यो बहुमत !

काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नहुने लगभग पक्का भएको छ । एमालेका नेताले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी ओली बन्ने बताएपछि माओवादी केन्द्र तर्सिएको छ । अध्यक्ष ओलीले साना दलसँगको भेटघाटलाई निरन्तरता दिएपछि माओवादीले विकल्प रोजिसकेको छ । एमालेका नेता लालबाबु पण्डितले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष ओली नै हुने दाबी गरिसकेका छन् ।

ओली र दाहालले आलोपालो सरकार चलाउने सहमति भएको कुरा गरिरहेका बेला उनले आलोपालाको अवस्था नआउने बताए । उनले भने,‘आलोपालो हुँदैन, पूरा पाँच वर्ष केपी ओली नै सरकार चलाउनुहुन्छ, यसमा कुनै दुई मत छैन, प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष दुवै ओली बन्नपनि सक्नुहुन्छ ।’

नेता पण्डितले गठबन्धनमा रहेका नेताहरुलाई उचित किसिमले व्यवस्थापन गर्नेबारेपनि अहिले छलफल चलिरहेको सुनाए । उनले भने, ‘हिजो चुनावमा तालमेल गर्दा पनि एउटा मापदण्ड बनाएर हामी भाग लिएका थियौं, अब एकताको लागि पनि विशेष मापदण्ड बनाएर छलफलमा जुट्छौं, यति हो कि सबै नेताहरुको उचित व्यवस्थापन हुन्छ, यसमा कुनै द्धिविधा र दुई मत छैन् ।’

उनले सरकार गठनपछि मात्रै पार्टी एकता हुने जनाए । उनले भने,‘पार्टी एकता हुनेमा कुनै शंका छैन, पहिले सरकार गठन हुन्छ, अनिमात्रै हामी पार्टी एकतामा जुट्छौं ।’

नेता पण्डितले वाम गठबन्धनलाई जनताले विश्वास गरेर मत दिएको भन्दै जनताको जीवनस्तर उकास्ने र मुलुकलाई समृद्ध बनाउने गरि अबको सरकारले काम गर्ने विश्वास दिलाए । उनले दिन गनेर सरकार गठन हुने र दिन गनेरै सरकार ढल्ने दिन अब गएको समेत दाबी गरे । उनले भने, ‘अब मुलुकलाई सही दिशामा डोर्याउनेगरि स्थायी सरकार बन्छ, पाँच वर्ष ढुक्कले सरकार सञ्चालन हुन्छ, अब सरकार गिराउने र बनाउने खेलको अन्त्य भयो ।’

त्यस्तै नेकपा एमालेका नेता शेरधन राईले अबको दुई हप्ताभित्रै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका थिए ।
नेता राईले भनेका छन्,‘वाम गठबन्धनले सरकार बनाउने गृहकार्य सुरु गरिसकेको छ, हामी साना–मसिना दलहरुलाई समेत समेट्ने गरि गृहकार्यमा जुटेका छौं, अबको दुई हप्ताभित्र नयाँ सरकार बन्छ ।’

भोजपुरबाट प्रदेश सभामा निर्वा्चित सांसदसमेत रहेका नेता राईले अबको सरकारको नेतृत्व कसले गर्छ भन्ने प्रश्न नै अब सान्दर्भिक नरहेको जिकिर गरे । ‘सरकारको नेतृत्व कसले गर्छ भन्ने प्रश्न अब प्रश्न रहेन, दुनियाँलाई थाहा भएको कुरा हो नि, यो त चुनावअघि नै अनुमान गरेको, बुझेको कुरा हो नि, यसमा अब कुनै विवाद, शंका वा द्धिविधा भन्ने कुरा छैन, हाम्रो पार्टीका आदरणीय अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ ।’

उनले पार्टी एकताको कारणले सरकार गठनमा कुनै ढिलाई नहुने समेत जिकिर गरे । उनले भने,‘तत्काल पार्टी एकता हुँदैन, अहिले हाम्रो ध्यान सरकार गठनमा केन्द्रित छ, सरकार गठनको काम टुँगोमा पुगिसकेपछि हामी एकता प्रक्रियाको लागि जुट्छौं, त्यसैले सरकार गठनपूर्व पार्टी एकता नहुनपनि सक्छ ।’

यद्धपी नेता राईले जनताले पार्टी एकताको लागि जनमत दिएको उल्लेख गर्दै पार्टी एकतापनि तत्काल सुरु हुने विश्वास दिलाए । उनले भने ,‘को कहाँ बस्ने ? वा नेताहरुको व्यवस्थापन भन्ने कुरा यो नितान्त प्राविधिक विषय हो, यसलाई हामी बडो ईमानदारीपूर्वक र समझदारीपूर्वक टुँग्याउँछौं ।’ उनले सरकारको नेतृत्व एमाले र माओवादी केन्द्रवीच आलोपालो भन्ने विषयमा अहिले कुनै निश्कर्ष ननिस्किएको समेत स्पष्ट पारे । राईले भने,‘आलोपालोको विषयमा पनि छलफल चलिरहेको छ, अहिले नै यही हुन्छ भन्न सकिने अवस्था छैन ।’

हालै सम्पन्न भएको निर्वाचनलाई ऐतिहासिक निर्वाचनको संज्ञा दिँदै उनले भने,‘वामगठबन्धनको पक्षमा जनताले आफ्नो अभिमत जाहेर गरेका छन् । यो परिणामलाई म स्वाभाविक ठान्छु । यसकारण कि हामीले यसपटक नेपाल राष्ट्र र नेपाली जनतालाई स्थिर र बलियो सरकार दिने कुरा गरेका छौँ । देशलाई, नेपाली जनतालाई स्थायी शान्ति, राजनीतिक स्थायित्व, सुशासनको बाटोमा लाने र जनताको विकास, समृद्धि र सम्पन्नता प्राप्त गर्ने चाहनालाई तीव्र गतिमा अगाडि बढाउने कुरा गरेका छौँ ।’

के भन्छ माओवादी ?

नेकपा माओवादी केन्द्रका नेताहरुले चुनावपछि एमालेभित्र दम्भ बढेकाले पार्टी एकता गर्न नहुने बताउँदै आएका छन् । ओली निकट मानिएका महासचिव ईश्वर पोखरेल, शेरधन राई, लालबाबु पण्डितलगायतले पार्टी अध्यक्ष केपी ओली नै हुनपर्ने बताएपछि माओवादीका नेता रुष्ट बनेका हुन् । एमालेसँग पार्टी एकता गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल स्वयम पनि इच्छुक नरहेको स्रोतले बताएको छ । ओलीले अन्य साना दललाई स्थान दिन थालेपछि दाहाल सन्तुष्ट छैनन् ।

अध्यक्ष दाहाललाई एमालेबाहेकका सबै दलले प्रधानमन्त्री बन्न आफर गरिरहेका छन् । उनलाई अफर गर्नेले सरकारमा सहभागी हुने बताएपछि माओवादीलाई पनि एमालेको साथ छोडे बहुमत पुग्ने देखिन्छ ।

कसरी पुग्छ माओवादीलाई बहुमत ?

चुनावी परिणाम आए लगत्तै नेपाली कांग्रेसका केही शीर्ष नेताहरुले दाहाललाई प्रधानमन्त्री बनाउनु पर्ने अभिव्यक्ति दिए । यसको संकेत एमाले र माओवादीको गठबन्धन टुटाएर माओवादी–कांगेस रमधेसवादी दल समेतको सरकार बनाउने हो ।

माअ‍ोवादी एमालेसँगको गठबन्धनबाट बाहिरिएमा माओवादी, कांग्रेस र मधेसवादी दल मिलेर सरकार बनाउन सक्नेछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठन गर्ने दलले १३८ सांसद संख्या पुर्याउनुपर्छ । प्रतिनिधिसभामा काँग्रेसका ६३, माओवादी ५३, राजपाका १७, फोरमका १६ सांसद रहने छन् । यसरी हेर्दा कांग्रस, माओवादी र मधेसवादी गठबन्धनमा १४९ सांसद पुग्छन् । एमालेबाट निर्वाचति सांस्द संख्या १सय २१ मात्र छ ।