राजनीति

पढाईको अवस्था खस्किएपछि बागमती नगरपालिकाका मेयर आफैं निस्किए विद्यालय अनुगमनमा

सर्लाही । सामुदायिक विद्यालयमा पढाईको अबस्था खस्किएको गुनासो आउन थालेपछि सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले सामुदायिक विद्यालयको छड्के अनुगमन सुरु गरेका छन् ।

विगत दुईहप्तादेखि उनले नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयको छड्के अनुगमन सुरु गरेका हन्। अनुगमनका क्रममा धेरै विद्यालय अस्तव्यस्त अबस्थामा चलेको पाइएको थापाले बताए ।

समयमा शिक्षक विद्यालय नजाने, गए पनि विद्यार्थीलाई मन लगाएर नपढाउने, विद्यार्थीलाई होमवर्क नदिने, राम्रो पढाई नहुँदा र शिक्षकहरुले वेवास्ता गर्दा विद्यार्थी पनि नियमित विद्यालय नजाने जस्ता समस्या अनुगमनका क्रममा देखिएको मेयर थापाको भनाई छ ।

मेयर थापासहित जनप्रतिनिधिको टोलीले विभिन्न विद्यालयमा पुगेर शिक्षक, विद्यार्थी र अभिभावकसँग छुट्टा छुट्टै अन्तक्रिया गर्ने गरेको छ ।

जनप्रतिनिधिसँग अधिकांश विद्यार्थीले शिक्षकले राम्रो नपढाउँदा आफ्नो पढाई कमजोर बनेको गुनासो गर्ने गरेका छन् ।

क्याम्पस, मावि र प्रावि गरेर वागमती नगरपालिका क्षेत्रमा २६ वटा सामुदायिक विद्यालय छन् । त्यसमध्ये अहिलेसम्म आधा दर्जन विद्यालयको छड्के अनुगमन गरिएको मेयर थापाले बताए ।

अनुगमनको क्रममा बागमती नगरपालिका वडा नम्बर ८ स्थित नव जनजागरण माविका शिक्षक विजयकुमार पाण्डे नियमित विद्यालय नजाने पाइएपछि उनलाई लिखित स्पष्टिकरण सोधिएको मेयर थापाले बताए । थापाले शिक्षक पाण्डेलाई सात दिनभित्र लिखित स्पष्टिकरणसहित नगरपालिकामा उपस्थित हुन निर्देशन दिएका छन् ।

जनप्रतिनिधिको अनुगमनपछि महेन्द्र जनता मावि, कर्मैया र जनजागरण मावि सोल्टीमा पढाई सुध्रिएको स्थानीय अभिभावकले बताएका छन् । स्थानीयबासीका अनुसार अहिले शिक्षकहरु नियमित विद्यालय जान थालेका छन् भने विद्यार्थीको उपस्थिति पनि वढेको छ ।