अन्तर्राष्ट्रिय

फिलिपिन्समा दिनहूँ प्राकृतिक प्रकोप र दुर्घटना

मनिला । उत्तरी फिलिपिन्समा क्रिसमस पर्व मनाउन गइरहेको एउटा बस सोमबार दुर्घटना हुदाँ कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ ।

क्रिस्मस मनाउनका लागि गइरहेको एउटा संयुक्त परिवारका २० व्यक्ति रहेको सो बस विपरीत दिशाबाट आएको अर्को बससँग ठोक्किँदा सो दुर्घटना भएको हो ।

आगी सहरमा क्रिस्मसको उपलक्षमा चर्चतर्फ गइरहेको सो सानो बसलाई ठूलो बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । सानो बसमा रहेका २० व्यक्तिको मृत्यु भएको थियो ।

यस घटनामा ज्यान गुमाउनेमा छ बालबालिकासमेत रहेका छन । सानो बसका नौ जना र ठूलो बसका १७ व्यक्ति घाइते भएका क्षेत्रीय प्रहरीले दिएको पछिल्लो जानकारीमा जनाइएको छ ।

फिलिपिन्सको आगी सहर राजधानी मनिलाबाट २ सय किलोमिटर उत्तरीतर्फ रहेको बताइएको छ ।

फिलिपिन्समा दावाओ सिटीमा शनिबार एउटा सपिङ मलमा भएको आगलागीमा परी ३७ जनाको मृत्यु भएको थियो । त्यसलगत्तै आज फेरि यो अर्को दुर्घटना भएको छ ।

उता शुक्रबार आएको ‘टेम्बिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको सङ्ख्या २४० पुगेको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । प्राप्त अर्को एक समाचारमा उक्त प्रकोपको पनि खतरा नघटेको बताइएको छ ।

फिलिपिन्सको दोस्रो ठूलो टापूका रुपमा चिनिने मिन्दानाओमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या सोमबार २४० नाघेको अधिकारीहरुले जनाएका छन् ।

साथै अझै पनि सयौं व्यक्ति बेपत्ता भएका अधिकारीले जानकारी दिएका छन् । उक्त आँधीमा परी बेपत्ता रहेका दर्जनौँ व्यक्ति अब भेटिने सम्भावना कमै रहेको पनि अधिकारीहरुले जनाएका छन् ।

यस आँधीका कारण ५० हजारभन्दा बढी सर्वसाधारण घाइते भएका छन् भने सयौँ घर ध्वस्त भएका तथा कतिपय त गाउँ नै बाढीले बगाएको पनि जनाइएको छ ।

यसरी गएको शुक्रबारदेखि फिलिपिन्समा आएको निरन्तर रुपमा प्राकृतिक प्रकोप र दुर्घटनापछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि दुःख व्यक्त गरेका थिए