आर्थिक

धुर्मुस–सुन्तलीको नमुना बस्तीलाई २ करोड रकम अपुग

रौतहट । चन्द्रपुरस्थित सन्तपुरमा निर्माणाधीन सन्तपुर नमुना बस्तीलाई अझै २ करोड रुपैयाँ अपुग भएको धुर्मुस–सुन्तली फाउन्डेसनले जनाएको छ ।

समाजसेवी तथा हाँस्यकलाकारद्धय सिताराम कट्टेल‘धुर्मुस’र कुन्जना घिमिरे‘सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीको ८० प्रतिशत काम सकिए पनि अझै रकमको अभाव भएको हो ।

असोज २८ गतेबाट कम्पाउण्ड वालबाट निर्माण सुरु गरिएको बस्तीमा भ्यु टावर र मन्दिरको काम बाहेक अरु सबै अन्तिम चरणमा पुगेको छ ।

बस्तीमा ४७ वटा घर, एक सामुदायिक भवन, मन्दिर, धाराहरु, सार्बजनिक शौचलय, भ्यु टावर, स्कुल र बगैंचा लगायतका संरचना निर्माण भइरहेका छन् ।

बस्ती निर्माणका लागि ५ करोड ९५ लाख लागत अनुमान गरिएको थियो । तर अनुमानित लागत भन्दा धेरै खर्च हुने अवस्था देखिएको धुर्मुसले बताएका छन् ।

गिटी, बालुवा, सिमेन्ट खरिददेखी बोक्नेसम्म काममा धुर्मुस आफैं खटिएका छन् । तर पनि बस्ती निर्माणका लागि फाउण्डेशनलाई २ करोड अपुग भएको हो । बस्तीमै पुगेर सहयोगीहरुले रकम हस्तान्तरण गरिरहँदा निर्माण पुरा हुँदासम्म सहयोग संकलन हुने कुरामा उनी आशावादी छन् ।

बस्ती निर्माणका लागि दैनिक २६१ जना कामदार खटिएका छन् । निर्माणको काम बिहान ६ बजेदेखि सुरु भएर साँझ जारी रहन्छ । चाड पर्वमासमेत काम रोकिएको छै भने कामदारका लागि चाडपर्व पनि धुर्मुस सुन्तली बस्तीमै मनाउने व्यवस्था गरेका छन् ।