राजनीति

कुरोको चुरो पत्ता लाग्यो, यसकारण हारेका रहेछन् वामदेव गौतम

काठमाण्डौ । बर्दिया क्षेत्र नम्बर १ का पराजित एवं नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम हारको प्रमुख कारण आफैं भएको खुलासा भएको छ । वाम गठबन्धनका सुत्राधारसमेत रहेका गौतमको लज्जास्पद पराजय उपप्रधानमन्त्री हुँदा जिल्लालाई असहयोग गरेको कुरा खुलासा भएको हो ।

गौतम आफूले चुनाव हारेपछि एमालेभित्र रडाँको मच्चाउन थालेका छन् । उनले जिल्लाका पूर्वसांसददेखि केन्द्रीय सदस्य सूर्य थापालाईसमेत पराजितको कारण रहेको बताए पनि वास्तवमा त्यसमा सत्यता देखिंदैन । गौतमले गरेको कामबाट नै चुनावी परिणाम पाएको स्रोतले बताएको छ ।

गौतमको पराजयलाई अध्यक्ष केपी शर्मा ओलीले अप्रत्याशित भन्दै यसको कारण खोज्न ५ नम्बर संयोजक बिष्णु पौडेललाई आग्रह गरेपछि छानविन अघि बढेको हो । बैजनाथ चौधरीले संयोजक पौडेललाई बुझाएको प्रारम्भिक रिपोर्टमा केही नेताले अन्तर्घात गरेको तर अन्तरघातकै कारण मात्र वामदेव पराजित नभएको उल्लेख गरिएको स्रोतले जनाएको छ ।

गौतमले चुनाव हारेपछि एमालेभित्रबाट गरिएका अलग–अलग छानविनका क्रममा केही गम्भीर कारण फेला परेका छन् ।

के कारण छन्, जसले बामदेवलाई चुनाव हार्न बाध्य पार्यो ?

जनतासँग भेटघाट नगर्नु

चुनाव जितेपछि गौतमले जनतासँगको स्म्बन्धलाई टाढा बनाउँदै लगेका थिए । उनी कुनै कार्यक्रममा सहभागी नहुने र जनताका कामलाई वेवास्ता गर्ने गरेको स्थानीयले बताए । ०४८ सालदेखि लगातार चुनाव लडेर तीनपटक जितेका गौतमले केही काम नगरेको भन्दै जनतामा व्यापक असन्तुष्टि थियो । तीनपटक उपप्रधानमन्त्री र गृहमन्त्री हुँदा विकास निर्माणका काम नभएको र वामदेवसँग जनताले भेट्नै नपाउने गरेको गुनासो कार्यकर्तामा पाइएको छ ।

एकलौटी निर्णय र स्थानीय नेतालाई बेवास्ता

वामदेवले बर्दिया १ बाट उम्मेदवारी मनोनयन गरेपछि पार्टी पोलिटब्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज गौरा प्रसाई कोइराला र अध्यक्ष हरि ज्ञवालीले निर्वाचन परिचालन कमिटी गठनको प्रस्ताव राखेका थिए । तर, गौतमको परिचालन कमिटी काठमाण्डौबाटै गठन भएर आयो ।

एमालेभित्र केशवलाल श्रेष्ठ, हरि पराजुली, डीबी कार्की, शारदा सुवेदी, बलराम बास्कोटालगायतको एउटा टीम छ, जसलाई वामदेव गौतमका दुःख भन्ने गरिन्छ । उ

छानविन समितिले दिएको प्रारम्भिक प्रतिवेदनमा वामदेव पराजयको मुख्य कारण यही ‘रेडिमेट हाइकमाण्ड’ लाई देखाइएको छ । यो हाइकमाण्डले जिल्लाका नेता-कार्यकर्तालाई भूमिका नदिने र वामदेवलाई २८ हजार मतान्तरले जितिन्छ भन्दै ढुक्क पार्ने काम गरेको छानविन समितिले जनाएको छ ।

मधेसविरोधी भावना

वामदेव गौतम वाम एकताको पक्षधर भए पनि मधेसी र थारुको सवालमा निकै अनुदार नेता मानिन्छन् । यसपालिको पराजयमा उनको थारु र मधेसविरोधी छविले पनि काम गरेको पाइएको छ ।

वामदेव गौतमविरुद्ध रेमशलाल चौधरीको समूह एक वर्षदेखि सक्रिय थियो । थरुहट आन्दोलनका बेला गृहमन्त्री रहेका गौतमले दमन गरेको र नेपालको इतिहासमा मधेस र थरुहट भन्ने भूमि नै थिएन भनेर भाषण गरेको विषयलाई तलसम्म प्रचारमा लगियो । एमाले नेता गौतमले एकताका पार्टीको केन्द्रीय बैठकमा ‘मधेस’ भन्ने शब्दमै आपत्ति जनाएपछि रघुवीर महासेठले उनलाई सम्झाएका थिए ।

स्रोतका अनुसार बर्दियामा मधेसी मतदाता खासै धेरै नभए पनि त्यहाँ रहेको कम्तिमा १० देखि १२ हजार थारु मत वामदेवकै कारण वाम गठबन्धनबाट कांग्रेसतिर लाग्यो ।

आफ्नै भाषण बन्यो घाँडो

साथै चुनावी भाषणका क्रममा उत्तेजित हुने र ब्रहृमाण्डमै बहुदलीय जनवाद लागू गर्छौं भन्न पछि नपर्ने वामदेवलाई आफ्नै भाषणले पनि डुबाएको पाइएको छ ।

गौतमले चुनावका क्रममा हरेकलाई अट्याच बाथरुमसहितको पक्की घर र एक घरमा दुई रोजगारी अनि जग्गा सरकारीकरण गरेर घर–घरमा भकारी भरी धान दिने बताएका थिए ।

२५ वर्षदेखि यहीँबाट राजनीति गरेर पनि केही नगरेको आरोप लागेका वामदेवले प्रधानमन्त्री बनेर यसो गर्छुभन्दा कसैले पत्याएनन् । उल्टै हाम्रो जग्गा सरकारीकरण गर्ने भयो भनेर कांग्रेसले प्रचार गरे । र, उनलाई आफ्नै भाषणले डुबायो ।

वामदेवको पराजयमा अन्तर्घात पनि एउटा सहायक कारण देखिएको छ । गौतम र बिष्णु पौडेलले स्थानीय तहको चुनावकै बेला त्यहाँका लोकप्रिय युवा नेता खड्गबहादुर खड्कालाई प्रदेशसभाको उम्मेदवार बनाउने भनेर मेयरको दाबी झिक्न लगाइएका रहेछन् ।

यसपटक अन्तिम घडीमा वामदेवले प्रदेशमा खड्कालाई टिकट नदिई कविराम थारुलाई दिए । खड्गले वामदेवविरुद्ध बागी उम्मेवारी दिए । सबैको दबावपछि उनले बागी उम्मेदवारी त फिर्ता लिए, तर खड्का र उनका समर्थकहरु वामदेवको प्रचारमा हिँडेनन् ।

छानविन समितिले जिल्ला कमिटी सदस्यसम्मका करिव एक दर्जन नेताहरुलाई कारवाहीको सिफारिस गरेको स्रोतले जनाएको छ । उनीहरुमाथि वामदेव हराउन भूमिका खेलेको आरोप छ ।