विशेष

चिसोबाट जोगिन के गर्ने ? यस्तो छ स्थानीय प्रशासनको तयारी

काठमाण्डौ । देशैभरी चिसो बढीरहेका बेला तराईका जनता थप मारमा परेका छन् । केहीदिनदेखि लगातार बढीरहेको चिसो पश्चिम तथा पूर्वी तराईका जिल्लामा बढीरहेको छ । शितलहरका कारण बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्गका समुदाय बढी प्रभावित हुने गरेका छन् । विशेषगरी केटाकेटीमा रुघा, खोकी, निमोनियालगायतका समस्या देखिने गरेका छन् । समयमा उपचार नपाएर कतिपयको अकालमा ज्यानसमेत जाने गरेको छ । तराईका जिल्लामा शितलहरका कारण वर्षेनी दर्जनौको ज्याने गरेको तथ्याङ्कले देखाएको छ ।
के छ त स्थानीय प्रशासनको तयारी ?

केही दिनबाट शुरु भएको शितलहरले विशेष गरी तराईका जिल्ला प्रभावित भएका छन् । स्थानीय प्रशासनले विपन्न, दलितसमुदायका लागि विशेष व्यवस्था गरेको छ । स्थानीय तहलाई आवश्यकतानुसार दाउरा र लुगाको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयहरुले सचेत गराईसकेका छन् । विभिन्न दाताहरुसँग समन्वय गरेर विपन्नसमुदायका लागि जाडोबाट अकालमा ज्यान गुमाउनु नपरोस् भनेर विशेष व्यवस्था गरेको छ ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुकेस नारायण केसरी भन्छन्ः ४/५ दिन अगाडि देखिएको शितलहर विस्तारै कम हुँदै गएको छ ।जिल्ला दैवी प्रकोप उद्धार समितिसँग बैठक बसेर स्थानीय तहमा विपन्न नागरिकको तथ्याङ संकलन गरे राहत वितरण दिने काम भएको छ । जिल्ला वन कर्याालयसँग समन्वय गरेर नगरपालिका र गाउँपालिकामा दाउराको व्यवस्था गरेका छौं । प्रत्येक गाउँगाउँमा दाउरा बालेर आगो ताप्ने व्यवस्था गरेका छौं । पोहोरको साल पनि हामीले तथ्याङ्क संकलन गरेर राहत वितरण गरेकाले यो पटक त्यति समस्या छैन । गहृमन्त्रालयले राहतको ‘लिष्ट’ मगाएको छ हामीले तयो उपलब्ध गराएका छौं त्यँहाबाट पनि राहत आउने छ । हामीले विशेषगरी दलित, मुसहरलाई दाउरा र कम्बल वितरण गरेका छौं । हामी पूर्व तयारीमा छौं । प्रभावित भन्ने खबर पाउनासाथ उद्धार गर्छौ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले तराईको जाडो पहिले भन्दा आजबाट केही बढे र स्थानीय तहलाई दाउरा र कम्बलको व्यवस्था गर्न भनेको बताउँछन् । ‘जाडोको मौसममा विशेष गरी बुढाबढी केटाकेटीमा समस्या देखिने भएकाले स्वास्थ्य चौकी र डाक्टर नभएको स्थानमा डाक्टरको व्यवस्था गरेका छौं । स्थानीयलाई पनि जाडोबाट जोगिन भनेका छौं’ उनले भने ।

त्यस्तै   कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले स्थानीय तहलाई दाउराको जोहो गर्न भनेको बताउँछन् । उनले भने, ‘ जिल्ला दैवी उद्धार प्रकोप समिति मार्फत हामीले लुगा र कम्बलको व्यवस्था गरेका छौं । तत्काल शितलहरको अवस्था छैन । दिउँसो घाम लागिरहेको छ । आवस्यकताअनुसार सचेत छौं साथै स्थानीय तहलाई सचेत रहन भनेका छौं ।’

चिसो मौसम रहेकाले तराईका जिल्लामा शितलहर चल्ने मासविदहरु बताउँछन् । यो क्रम केही दिनसम्म चल्ने भएकाले सचेत रहन सबैलाई आग्रह गरिएको छ ।

चिसोबाट जोगिन के गर्ने ?

विस्तारै मौसम बदली भएसंगै चिसोको अनुभुति सुरु हुन थालेको छ । गर्मी महिना सकिन थाले संगै क्रमिक रूपमा जाडोले छोप्न थालेको हो । बिशेषतह गर्मि समयमा भन्दा जाडो मौसममा बालबालीका र बृद्धबृद्धालाई चिसोका कारण स्वास्थ्यमा बिभीन्न समस्याहरू देखा पर्ने गर्छन् । चिसोबाट जोगिन सकियो भने धेरै रोगहरूबाट बच्न सकिन्छ । नबजात शिशु बालबालीकादेखि बृद्ध सम्मले जाडोमा बिशेष साबधानी अपनाउनुपर्ने चिकीत्सकहरूको सुझाब छ ।

भनिन्छ रोग लाग्नु भन्दा रोग लाग्न नदिनु बेश हुन्छ । जाडोका बेला देखिने समस्याहरूमा सामान्य रुघाखोकीदेखि ज्वरोसम्म पर्ने गर्छन्। मुटुका विरामीले पनि जाडोमा आफूलाई बढी ख्याल राख्नुपर्छ । वालवालिका र वृद्धवृद्धाहरूलाई पनि जाडो मौसम कष्टदायक हुन्छ ।

जाडोका कारण मानिसहरू घरभित्रै पसल, कार्यालय समयमा कार्यालयमै, महल आदि स्थानमा समय बिताउने हुनाले रुघाखोकीजस्ता सरुवा रोग चाँडो संक्रमणका रूपमा फैलिने गर्दछ । जाडो महिनामा मानिसको प्रतिरक्षा प्रणाली जोखिममा हुन्छ ।

जाडो महिनामा शरीरका रक्तनली साघँुरिने हुनाले मुटुरोगको जोखिम बढ्ने गर्दछ । यसबाहेक छालाका समस्या, हाइपरथर्मियाजस्ता समस्या पनि देखिन सक्छन् । चिसोका कारण शरीरको तापक्रम ९५ डिग्री फरेनहाइटभन्दा कम हुनु हाइपरथर्मिया हो। शरीरलाई पर्याप्त तातो बनाउन आवश्यक उर्जा उत्पन्न हुन नसक्दा यस्तो रोग लाग्ने चिकीत्सकहरु बताउँछन् ।

१. पर्याप्त न्यानो कपडा लगाउनुपर्छ । टोपी, मखलर, मोजा र पञ्जा लगाउन बिर्सीनु हुदैंन । बिशेषगरी बाहिर निस्किँदा चिसोबाट सचेत रहनुपर्छ । र, आफ्नो शरीरलाई सन्तुलनमा राख्नुपर्छ ।

२. मुटुका बिरामीहरूले जाडोमा बाधा पर्ने गरी शारीरीक काम गर्नु हुदैंन । बिहान बेलुकि अलिक बढि जाडो हुने भएकाले बिहान बेलुका घरभित्रै बस्नुपर्छ ।

३. चिसोमा सरुवा रोगबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ । नियमित साबुन पानीले हात धुने र शरीरलाई फुर्तिलो राख्न बेला बेलामा नुहाउनुपर्छ। तातो पानीभन्दा मनतातो पानीले नुहाउनु राम्रो हुन्छ। यस्तै चिसोमा ओठ फुट्ने समस्याबाट बच्न लिपगार्ड लगाउनुपर्छ ।

४. शरीर ढाक्ने तातो प्रकृतिका कपडाहरू लगाउनुपर्छ। साथै छालाको सुरक्षामा ध्यान दिन आबश्यक छ । चिसोले छालाको ओसलाई सोसेर सुख्खा बनाइदिन्छ ।

५. बिहान उठ्ने बित्तीकै पर्याप्त शारीरिक अभ्यास गर्नुपर्छ। पर्याप्त पानी पिउन आबश्यक छ । चिसो मौसममा हामी पानी कम पिउने गर्दछौँ । जसले गर्दा अन्य स्वास्थ्य समस्या उत्पन्न हुनसक्छन् ।

६. स्वस्थ खानपानमा ध्यान दिन आवश्यक छ। फलफूल तथा तरकारी, भिटामिन सी र जिंकजस्ता तत्व भएको खानेकुरा पर्याप्त मात्रामा खाएमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

७. कम्तीमा ६ घण्टा सुत्नुपर्छ । नत्रभने शरीरले रोगले सजिलै आक्रमण गर्ने सम्भावना हुन्छ ।

८. जाडो मौसममा तनावका कारण रुघाखोकी जस्ता रोग लाग्ने सम्भावना बढ्ने अनुसन्धानहरूमा देखिएको छ । त्यसैले मानसिक स्वास्थ्यको ख्याल गर्नका लागी योगाभ्यास, शारीरिक कसरत, ध्यानजस्ता कुराहरूले तनावमुक्त हुन सहयोग पुर्याउन सक्छ ।

९. जाडोमा कम शारीरिक कसरत र बढी खाना खाइने हुनाले तौल बढ्ने सम्भावना हुन्छ । तौल नियन्त्रण गरी स्वस्थ रहनुपर्छ । चिनीजन्य खाद्यपदार्थबाट जोगिनुपर्छ । तौल नियन्त्रण गर्नुहोस् ।
१०. जाडोमा सबैभन्दा बढी छातीसम्बन्धी समस्या देखापर्छ । यस्तो बेलामा रुघाखोकीले ज्यादा सताउने गर्छ। हाच्छिउ गर्दा नाकमुख छोपेको हात धुने, छुट्टै खालका रुमालहरू प्रयोग गर्नुपर्छ। संक्रमण भएको छ भने मास्क लगाएर हिड्न आबश्यक छ।

११. सानो बच्चादेखि वृद्धवृद्धासम्मलाई जाडोमा निमोनियाको जोखिम उच्च मात्रामा हुन्छ। बालकहरूमा प्रतिरक्षा प्रणाली त्यति विकास भइसकेको हुदैन। बुढ्यौलीमा प्रतिरोधको क्षमता कम हुने भएकाले ६५ वर्षभन्दा बढीको उमेरका व्यक्तिलाई निमोनिया भएमा त्यसले विकराल रूप लिनसक्ने खतरा पनि उत्तिकै रहन्छ। त्यसैले कुनै समस्या हुनासाथ तत्काल नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गरिहाल्नुपर्छ। साना बच्चाहरूमा पनि श्वासप्रश्वास र निमोनिया छ भने तत्काल अस्पताल लगेर उपचार गराउनुपर्छ ।

१२. दम भएको मानिसहरूलाई चिसोले चाडैं छुन्छ । त्यसैले आफूलाई तातो राख्ने, विहानको चिसो बाहिर ननिस्कने । निस्कनै परे घाम लागेपछि निस्कनु उपयुक्त हुन्छ । त्यसमा पनि बाक्लो लुगाहरू लगाएर निस्केमा छातीलाई चिसोबाट जोगाउन सकिन्छ । दमको संक्रमण भएकालाई अरु संक्रमणले छोयो भने विकराल रूप लिन सक्छ । दम भएको मानिसले धुंवा कम भएको ठाउ”मा आगो ताप्दा फरक पर्दैन । धुवायुक्त आगोका कारण सामान्य मानिसहरूलाई पनि ज्यानै जोखिममा पार्ने खतरा हुनसक्छ ।

१३. जाडोको समयमा युवा वर्गले ज्यादा स्मोकिङ गर्ने, मद्यपान गर्ने प्रचलन छ । यी पक्षले कुनैपनि हालतमा शरिरलाई फाइदा नहुने भएकाले युवा वर्गले यस्ता कुलत तत्काल छोड्नु राम्रो हुन्छ । स्मोकिङले फोक्सो विगार्ने र मदिराले कलेजो लगायतका अंगलाई विगार्ने काम गर्नुहुदैन ।

१४. जाडोका कारण झ्यालढोका थुन्ने, अनि कोठाभित्र आगो बालेर बस्ने चलन सबैतिर छ । त्यसले कार्वनमोनोअक्साइड कोठाभरी फैंलिदा भारी भएजस्तो हुने, टाउको दुख्ने, निसास्सिएजस्तो महसुस हुने, सास फेर्न गाह्रो हुने र मानिस बेहोस भई मृत्यु हुनसक्ने जोखिम पनि हुन्छ ।