कुराकानी

मलाई मन्त्री बनाउन आरजुको आवश्यकता छैनः नारदमुनी राना (अन्तरवार्ता)

कैलाली क्षेत्र नम्बर ५ बाट वामगठबन्धनको तर्फबाट निर्वाचित सांसद हुन् नारदमुनि राना । उनले नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा.आरजु राणालाई हराएर निर्वाचनमा विजय हासिल गरेका थिए ।

२०६४ सालमा एमालेको तर्फबाट समानूपातिक सांसद समेत भैसकेका राना त्योभन्दा अघि धनगढी उपमहानगरपालिकाको उपमेयर पदमा निर्वाचित भएका थिए । भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आरजुलाई पराजित गरेर विजयी हासिल भएका उनै रानासँग निर्वाचनपछि कैलालीको विकास निर्माणको योजना, मुलुकको पछिल्लो राजनीतिक परिस्थिति लगायतका विषयमा केन्द्रीत रहेर हामीले कुराकानी गरेका छौ । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंशः

तपाई अहिले कैलालीबाट बाम गठबन्धनको तर्फबाट निर्वाचन जितेर आउनुभएको छ, यो जितलाई कसरी लिइरहनुभएको छ ?
–सर्वप्रथम त मलाई निर्वाचनमा विजयी गराउने सम्पूर्ण कैलालीबासी दाजुभाई दिदी–बहिनीहरुलाई धन्यवाद दिन चाहान्छु । यो जित मेरो मात्र जित होइन,त्यो क्षेत्रका सम्पूर्ण क्षेत्रका जनताको जित हो । वास्तवमा मैले ठूलो लडाई जितेको छु ।

अहिले देशभरी वाम गठबन्धन(एमाले–माओवादीले) झण्डै दुईतिहाई मत ल्याएर चुनाव जितेका छन्, यसलाई कसरी हेर्नुहुन्छ ? 

–यो वास्तवमा लामो समयदेखिको अभ्यासले गर्दा भएको हो । नेपाली जनताले जसरी बाम गठबन्धनलाई विश्वास गरेका छन्, यो दुईटा कारणले सम्भव भएको हो । पहिलो कारण, यो देशमा नेपाली कांग्रेसले पटक–पटक बहुमत प्राप्त गर्दा समेत केही गर्न नसकेको अवस्था ।

त्यसबेला नेपालका बामहरु प्रतिपक्षमा बस्नुपरिरहेको र पटक–पटक कांग्रेसले बहुमत प्राप्त गर्दा पनि केही नभएपछि जनताले यो विकल्प रोजेका हुन् । दोश्रो कारण,यो मुलुकमा पछिल्ला वर्ष घटेका विभिन्न दुर्घटनाहरु, जस्तै भारतीय नाकाबन्दी, भूकम्पपीडितको व्यवस्थापन लगायतका कुराहरु पनि यसमा जोडिएर आउछन् ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वपछि एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नुभयो । त्यसबेला अध्यक्ष ओलीले राष्ट्रियताको सवालमा नेपाली जनताको शीर ठाडो पार्ने काम गर्नुभयो । त्यसकारण पनि यो पटक नेपाली जनताले वाम गठबन्धनको पक्षमा मत जाहेर गरेका हुन् । राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुपर्छ भन्ने उद्धेश्यका साथनै जनताले योपटक वामपन्थीहरुलाई झण्डै दुईहिाई मत दिएर जिताएका हुन् ।

तपाईको प्रतिस्पर्धी नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवम् प्रधानमन्त्री पत्नी डा. आरजु राणा हुनुहुन्थ्यो, के तपाईलाई उहाँसँग प्रतिस्पर्धा गरेर निर्वाचन जितिन्छ जस्तो लाग्थ्यो ?

–मैले चुनाव जित्छु भनेरै माथिबाट टिकट ल्याएको थिए । निर्वाचनका क्रममा बीचमा पैसा र शक्तिको दुरुपयोग हुनेगर्छ । त्यसलाई पनि मैले ध्यान दिएको थिए । त्यसैले मैले निर्वाचनको नोमिनेसनदेखि नै निर्वाचन जित्ने आधारहरु तयार पार्न थालेको थिए ।

मैले निर्वाचन जित्छ भनेरै टिकट त लिए तर निर्वाचनको बीचमा जुन खालका स्वस्थ–अस्वस्थ प्रतिस्पर्धाहरु भए, जस्तै, कहिले घर किन्ने, कहिले उम्मेद्वार किन्ने, कहिले मतदाता किनेका खबरहरु आइरहे । त्यसकारण निर्वाचन हारिन्छकि भन्ने त्रासचाहि मलाई थियो । त्यति ठूलो धनराशी र शक्तिसँग मजस्तो किसानको छोराले चुनाव लड्नु निकै ठूलो चूनौती थियो ।

पैसाको मामलामा हामीजस्तो किसानका छोराले प्रतिस्पर्धा गर्न सक्दैनौ भन्नेचाहि मलाई थियो । तर म केमा विश्वस्त थिए भने त्यो क्षेत्रका जनताले आफ्नै क्षेत्र र गाउँघरको छोरालाई नै विश्वास गर्छन् भन्नेमा विश्वस्त थिए ।

म आफैमा आफ्नो क्षेत्रका जनता, भूगोल र सामाजिक परिवेशमा घुलमिल भएका कारण चुनाव जित्छु भन्नेमा विश्वस्त थिए तर एउटा त्रास ममा के थियो भने बीचमा पैसाको चलेखल भयो भने जे पनि हुनसक्छ । तर यो पटक हाम्रो क्षेत्रका जनताले पैसा र शक्तिलाई पराजय गरेर हाम्रो विचारलाई जिताएका छन् । त्यसका लागि त्यो क्षेत्रका जनतालाई फेरि पनि धन्यवाद दिन चाहान्छु ।

तपाईकै जिल्लाबाट एकजना अर्को उम्मेद्वार रेशम चौधरी विजयी हुनुभएको छ, उहाँलाई अहिले सांसदको प्रमापत्र दिने विषयमानै विवाद भैरहेको छ, योबारेमा चाहि यहाँको भनाई के छ ?
–यो विषयचाहि अलि फरक पाटो हो । उहाँ एउटा काण्डमा मुछिनुभएको छ, त्यसमा हामीले केही भन्ने कुरा छैन । त्यो प्रहरीले निश्कर्ष निकाल्ने कुरा हो । त्यो कानूनी कुरा हो, त्यसलाई कानूनले नै ठेगान लगाउँछ ।

तपाई मन्त्री बन्ने सम्भावनाचाहिं कत्तिको छ ?
–मन्त्री बन्ने नबन्ने भन्ने कुरा पार्टीले मूल्याँकन गर्ने कुरा हो । मलाई व्यक्तिगत रुपमा चाहि के लाग्छ भने पार्टीले मलाई उचित मूल्याँकन गर्छ । सुदुरपश्चिमबाट पार्टीको नेतृत्व गर्दै आएको छु ।

वास्तवमा हाम्रो क्षेत्रमा २०५६ सालदेखि पार्टीले हार्दै आएको थियो । अहिले मैले चुनाव जितेर कांग्रेसको किल्ला तोडेको छु । त्यो क्षेत्रमा वामपन्थी उम्मेद्वारले जित्नु ऐतिहासिक कुरा नै हो । त्यसैले पार्टीले मूल्याँकन गर्छ भन्नेमा म विश्वस्त रहेको छु ।

अहिले राजनीतिक दलहरुभित्र डनहरु पनि चुनावी उम्मेद्वार हुने गरेका छन्, जस्तै दिपक मनाङेले मनाङबाट चुनाव जिते, त्यस्तै कांग्रेसबाट पनि गणेश लामा चुनाव लडेका थिए, उनी पराजय भए, पार्टीहरुभित्र यस्तो किन हुन्छ, यसबारे के भन्नुहुन्छ ?

–दिपक मनाङे स्वतन्त्र रुपमा चुनाव लड्नुभएको हो । उहाँलाई त्यो क्षेत्रका जनताले जिताएका छन् । चुनाव जितेपछि कुरा सकियो । उहाँको व्यक्तिगत जीवन भनेको उहाँको कुरा हो, त्यसबारेमा टिप्पणी गर्नु उचित छैन ।

अहिले वाम गठबन्धनको विषयमा पार्टी एकताको सवाल चर्को रुपमा उठिरहेको छ, पार्टी एकताचाहि सरकार निर्माण भएपछि हुन्छ कि त्योभन्दा अघिनै हुन्छ ?
—यो विषयमा सुरुदेखि नै चुनावसम्म पार्टी एकताका लागि प्रयास गर्ने, त्यसपछि पार्टी एकतानै गर्ने भन्ने कुरा भएको हो । अहिले हामीले पार्टी एकताकै लागि भनेर एउटा प्राविधिक टिम बनाएका छौ । त्यसले ९९ प्रतिशत काम गरिसकेको छ ।

अब पार्टी एकताको विकल्प छैन, किन छैन भने चुनावी तालमेल गर्दै हामीले पार्टी एकताको नारा लिएर जनतामा गएका थियौं, अहिले आएको अत्याधिक मत पनि त्यसैको परिणाम हो । अब पनि हामीले पार्टी एकता गरेनौ भने जनताको भावनामाथि कुठराघात भएको ठहरिन्छ ।

प्राविधिक कुरा मिलाउनका लागि केही समय लागे पनि केही हुँदैन । सरकार निर्माणपछि एकता भए पनि हुन्छ । प्राविधिक कुराले भोली दुरगामी असर पर्न सक्ने भएकोले त्यसको राम्रो व्यवस्थापन गर्नुपर्छ । तर पार्टी एकताबाट पछि हट्ने कुरा चाहि हुँदैन । त्यसबाट आँतिनु हुँदैन भन्ने कुरा हो । किनभने जनताले त्यो म्यन्डेट निर्वाचनमार्फत दिइसकेका छन् । त्यसबाट पछि हट्नुहुँदैन ।

तपाईले प्राविधिक कुरा उठाउनुभयो, जस्तै माओवादीका केही नेताहरुले माओवादी नेतृत्वमा भएको जनयुद्धलाई एमालेले स्वीकार्छ कि स्वीकार्दैन ? भन्ने प्रश्न उठाइरहेका छन् । के एमालेले माओवादी जनयुद्धलाई स्वीकार्छ त ?

–त्यसलाई एमालेले स्वीकार गर्दैन । किन गर्दैन भने हामी दुईवटा पार्टी एकता भैसकेपछि पहिला पार्टीभित्रको सांगठिनक व्यवस्थापन मिलाउँछौ । जस्तै अध्यक्ष, महासचिवदेखि केन्द्र र प्रदेश स्तरसम्मकै सांगठनिक व्यवस्थापन गर्ने कुरा छ ।

त्यसका लागि नीतिगत रुपमा एकता हुनुपर्छ भन्ने विषयमा अहिले छलफल भैरहेको छ । त्यो समस्या पनि समाधान हुन्छ । अहिले तपाईले जुन प्रश्न गर्नुभयो, त्यसमा चाहि एमालेले शान्तिपूर्ण ढंगबाटै यो मुलुकको परिवर्तन गर्न सकिन्छ भन्ने नीतिलाई अघि सारेको छ । जसको नेतृत्व जनताको बहुदलीय जनवादले गर्दै आइरहेको छ ।

त्यसैका आधारमा यो मुलुकमा लोकतन्त्र लगायतका व्यवस्थाहरु संस्थागत भैरहेका छन् । अब एमाले र माओवादीबीच पार्टी एकता हुँदा बहुदलीय जनवादकै आधारमा हुन्छ । नयाँ बन्ने पार्टीको मार्गनिर्देशक सिद्धान्त भनेको जनताको बहुदलीय जनवाद नै हो । जबज राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा स्वीकार भैसकेको सिद्धान्त हो । त्यसलाई माओवादीको जनयुद्ध र प्रचण्डपथले छुन सक्दैन । पार्टी एकतापछि सोही विचारधारा अनुसारनै अघि बढ्नु उत्तम हुन्छ ।

दुई पार्टीको एकतापछि पार्टी अध्यक्षचाहि को हुन्छ ?
–पार्टी अध्यक्ष केपी ओली नै हुनुहुन्छ र भावी प्रधानमन्त्री पनि उहाँ नै हुने हो । अहिलेको जनादेश भनेको नै त्यही हो । महासचिव ईश्वर पोख्रेलले यसअघि भनेको कुरानै सही हो ।

अब अर्को प्रसंगमा जाऔं, अहिले नेपाली कांग्रेसले निकै नराम्रोसँग चुनाव हारेको छ, कांग्रेसको हारको कारणचाहि के देख्नुहुन्छ ?
–नेपालको सन्दर्भमा उक्त पार्टी असक्षम सावित भैसकेको पार्टी हो । जब–जब नेपाली कांग्रेस सत्तामा गयो उसले त्यस्ता राम्रा कामहरु गर्न सकेन । उक्त पार्टीको नेतृत्व खासगरी शेरबहादुर देउवाले जब–जब सरकारको नेतृत्व गर्नुभयो, तब ठुला–ठुला दुर्घटनाहरु भए । कांग्रेस सरकारले यो मुलुकका लागि राम्रा एजेण्डाहरु अघि सार्न सकेन ।

वास्तवमा शेरबहादुरले सरकारको नेतृत्व गर्दा पटक–पटक लोकतन्त्र खतरामा परेको छ । यी यावत कारणले कांग्रेसप्रति जनताको अविश्वास बढ्दै गयो र अहिलेको परिणाम भोग्नुपर्यो ।

कांग्रेसले अहिले एमाले–माओवादीले धेरै सिट ल्याएपछि घमण्ड गर्न थाल्यो भन्ने आरोप लगाइरहेको छ नि, यसबारे के भन्नुहुन्छ ?

–नेपाली कांग्रेसको हार मानसिकताको उपज हो त्यो । निर्वाचनमा पराजय भैसकेपछि के दोष लगाउने भन्ने प्रवृति हो । जस्तै, म एउटा किसानको छोरो चुनाव जिते भन्दैमा त्यो दम्भ देखाउदिन ।

हामीले यति सिट जित्यौ भनेर भन्दानै त्यसलाई दम्भ देख्ने हो भने हामीलाई भन्नु केही छैन । मेरो विचारमा जितमा धेरै हौसिने र हारमा धेरै निराश हुनु राम्रो होइन ।

मुलुकभर एमालेले धेरै मत ल्याएपनि मधेसमा भने पछि परेको देखियो, मधेसका लागिचाहि अब एमालेले के योजना ल्याउँछ ?

–मधेसको सवालमा भन्दा केही मधेस विरोधी पार्टीहरुले एमालेविरुद्ध हौवा फिजाउन सफल हुँदा त्यो परिणाम आएको हो । वास्तवमा एमाले मधेसी, जनजाति, थारु कुनै वर्ग र जाति विरोधी पार्टी होइन । एमाले वर्गीय दृष्टिकोणबाट चलेको पार्टी हो ।

सबैलाई सोही दृष्टिकोणबाट हेर्ने गर्छ । नयाँ संविधान निर्माण हुँदै गर्दा र भैसकेपछि एउटा तप्काले मधेसविरोधी गतिविधि गरिरह्यो । त्यसमा एमालेलाई मधेस विरोधी पार्टीको रुपमा उभ्याउन हौवा पिटियो तर एमाले मधेसी, जनजाति र थारु समुदायबाटै निर्माण भएको पार्टी हो । जस्तै सुवास नेम्वाङ जनजातिबाट उठ्नुभएको छ ।

त्यस्तै मधेसबाट लालबाबु पण्डित,रघुबीर महासेठ, रामचन्द्र झाहरु हुनुहुन्छ । उहाँहरुलाई पटक–पटक एमालेले सम्मान गरेको छ । यस्तै थारु समुदायका नेताहरुलाई पनि सम्मान गर्दै आइरहेको छ । तर जसरी अहिले एमालेलाई मधेसमा बदनाम गर्ने काम भइरहेको छ, त्यो मधेसविरोधी पार्टीहरुको षडयन्त्रले गर्दा भएको हो र एमालेले क्षति ब्यहोर्न पुगेको हो । त्यहाँका जनताले यो कुरा ढिलोचाँडो बुझ्नेछन् ।

मधेसबाटै जितेका एकजना प्रभावशाली मधेसी नेता राजेन्द्र महतोले आफुहरुको अबको मुल एजेण्डा संविधान संशोधननै हो भनेका छन्, के तत्काल संविधान संशोधन होला ?

–संविधान संशोधन गर्न सकिने दस्तावेज हो । यो समय र कालखण्डमा संशोधन हुनु पनि पर्छ तर हिजो मात्र निर्माण गरिएको संविधान आजै संशोधन गर्ने भन्ने कुराचाहि कति सान्दर्भिक छ, त्यो हेर्नुपर्ने हुन्छ ।

अरु कसैका लागि संशोधन भन्न खोजिएको होकि त्यता पनि हेर्नुपर्छ । संविधान निर्माण गरेको वर्ष दिन पनि पुगेको छैन । एक वर्षपनि हामीले अभ्यास गर्न पाएका छैनौ अनि संशोधनको कुरा कति सान्दर्भिक हुन्छ ?

जस्तै, प्रदेश वा समुदायका लागि निकै ठूलो घातनै हुने भयो वा ठूलै अन्याय हुनेभो भने संविधानका धारा–उपधारालाई संशोधन गर्न सकिन्छ नै तर यहाँ त के भो भने नेपालका नेताहरुमार्फत संसद सचिवालय गएर संशोधन प्रस्ताव दर्ता गर्ने र दिल्लीमा गएर प्रधानमन्त्रीलेनै संशोधन गर्न मैले सकिन भन्ने काम भैरहेको छ ।

विन्ति चढाउने काम भैरहेको छ, यो वास्तवमा स्वाभिमानी नेपालीहरुका लागि असहैय कुरा हो । प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी दिल्लीमा पुगेर अहिले हामीले संशोधन गर्न सकेनौ, भोली बहुमत ल्याएपछि संशोधन गर्छु भन्नुभएको थियो, त्यसलाई जनताले अहिले अस्वीकार गरिसकेका छन् । त्यसैले यो संशोधनको पाटो त्यति महत्वको पाटो होइन, यसलाई जनताले नै खारेज गरिसकेका छन् ।

तपाई पहिले २०६४ सालमा समानूपातिक सांसद हुनुहुन्थ्यो, अहिले प्रत्यक्षबाट निर्वाचित हुनुभएको छ, त्यसबेला र अहिले के फरक पाउनुभएको छ ?

–समानूपातिकबाट आउँदा जनताको मतको अनुभव र त्योसँगको भावना नजोडिएजस्तो हुने तर प्रत्यक्षबाट चुनाव जितेर आउँदा त्यसको फरक महत्व हुन्छ, किनभने त्यसमा जनताले प्रत्यक्ष रुपमा मत हालेका हुन्छन् ।

जनताको प्रत्यक्ष म्यान्डेट लिएर आएपछि फरक खालको जोस र जाँगर प्राप्त हुँदोरहेछ भन्ने अनुभव गरिरहेको छु ।  यदि तपाईलाई मन्त्रालय छान्न दिइयो भने कुन मन्त्रालय छान्नुहुन्छ ?

–मेरो विचारमा प्रायः सबै मन्त्रालय उस्तै हुन् तर म यसअघि उपमेयर भैसकेको व्यक्ति भएकोले स्थानीय विकास मन्त्रालय सम्हाल्न सहज हुन्छ जस्तो लाग्छ । त्यो मन्त्रालयमार्फत स्थानीय जनताको काम गर्न सहज हुने भएकोले त्यो राम्रो हुन्छ ।

त्यस्तै कृषि,पर्यटन,कानून लगायतका मन्त्रालयहरु पनि मेरो इच्छा र चासोको मन्त्रालयहरुमा पर्छन् । जुन मन्त्रालय पाए पनि म नमुना काम गरेर देखाउँछु ।

तपाईसँगै पराजित भएकी कांग्रेस नेतृ डा.आरजु देउवाले मन्त्री बनाउने पहल गर्छु भनेकी छन्,मन्त्री बन्न उहाँको पहल तपाईलाई आवश्यक छकि छैन ?
–एउटा पत्रकार सम्मेलनमा उहाँले त्यो कुरा गर्नुभएको हो । उहाँले कुन आसयमा भन्नुभयो त्यो थाहा भएन तर आरजु देउवाले मलाई मन्त्री बनाउने होइन । त्यो एमालेको निर्णयमा भर पर्छ । मन्त्री बनाए पनि नबनाए पनि एमालेले निर्णय गर्छ ।

आरजुले मन्त्री बनाउछु भन्नु एउटा साधारण व्यक्तिले भनेजस्तै कुरा हो तर उहाँले किन भन्नुभो भन्ने कुराचाहि महत्वपूर्ण हो ।

अब प्रदेशतर्फ जाऔं, सात नम्बर प्रदेशको राजधानीचाहि कहाँ हुँदैछ ?
–सात नम्बर प्रदेशको राजधानी धनगढी र अत्तरियाको बीचमा हुनुपर्छ । जहाँ सबैलाई सुविधा हुने, सेवाको हिसाबले र नाकाको हिसाबले पनि यो ठाउँ उपयुक्त हुन्छ ।

प्रदेश व्यवस्थापनका लागि के–के कामहरु बाँकी छन् जस्तो लाग्छ तपाईलाई ?
–प्रदेश व्यवस्थापनका धेरै कामहरु सकिएका छन् । राजधानीको सवालमा केही छलफल गर्नुपर्छ जस्तो लाग्छ । त्यसका विषयमा पनि अहिले छलफल जारी छ । अहिले मेरै जिल्लामा राजधानी हुनुपर्छ भनेर सबैले दाबी गरिरहेका छन् ।

जनताले आफ्नै घरछेउ र गाउँमा प्रदेश राजधानी बनाउनुपर्छ भन्नु स्वभाविक हो तर हामीले निर्णय गर्दा भने उपयुक्त ठाउँ हेरेर त्यसको निक्र्योल गर्नुपर्छ । हामीले भने सात नम्बर प्रदेशको राजधानी भने सबैलाई मध्यनजर गरेर तय गर्दैछौ । सेवा–सुविधा,भूगोल,नाका सबैलाई हेरेर हामीले धनगढी र अत्तरियाको बीचको भूगोल रोजेका हौं ।

जस्तै,भोली प्रदेश सरकारका मन्त्रालयहरु निर्माण गर्दा फरक–फरक डाँडामा पर्यो भने त्यो राम्रो हुँदैन । यस्तो समस्याहरु पहाडतिर देखिदै गएको छ । तर हाम्रो सन्दर्भमा भने ९ वटा जिल्लाको नाकाको रुपमा रहेको धनगढी–अत्तरियाको बीचनै ठिक हुन्छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थाको प्रसंगमा जाऔं, अहिले राष्ट्रपति कार्यालयमा गएर अड्किएको राष्ट्रियसभासम्बन्धी अध्यादेशका बारेमा चाहि यहाँको के धारणा छ ?

–राष्ट्रियसभा अध्यादेशको सवालमा भन्दा सर्वप्रथम त यो पास नगरीकनै चुनावमा जानुपथ्र्यो तर अहिले नियतकै रुपमा यो लगिएको रहेछ बुझिदैछ ।

यो विषयमा राष्ट्रपति भण्डारीले राजनीतिक दलहरुबीचमा छलफल र बहस गरेर एउटा समझ्दारी गर्दै अन्तिम टुंगो लगाउनुपर्छ । राष्ट्रिय सहमति गर्दा कसरी गर्न सकिन्छ यो विषयलाई छिटो टुंगो लगाउनुपर्छ । बहुमतीय वा एकल संक्रणीय कुन प्रणालीबाट जान सकिन्छ, त्यसमा राष्ट्रिय सहमति खोज्नुपर्छ ।

अन्तमा केही भन्नुछ ?
–मुलुकले नयाँ जनादेश पाएको छ । प्रत्यक्षतर्फ र समानूपातिक निर्वाचनको मत परिणामले त्यो देखाएको छ । अहिले सरकार र निर्वाचन आयोगले समेत काम गर्न आनकानी गरिरहेको अवस्था छ ।

त्यसको अन्त गर्दै छिटो मुलुकले नयाँ नेतृत्व पाउनुपर्छ र निकास दिनुपर्छ भन्ने शुभकामना दिन चाहान्छु, धन्यवाद ।