अन्तर्राष्ट्रिय

चीनमा १३ हजारभन्दा बढी वेबसाइट बन्द

एजेन्सी । चीनले अवैधानिक रुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेबसाइटलाई बन्द गरिदिएको जनाइएको छ ।

चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेबसाइट बन्द गरिएको जानकारी दिएका हुन् । यो अवधिमा अरु दुई हजार २ सय वेभसाइटका सञ्चालकलाई पनि बोलाएर कुराकानी गरिएको उनले बताए ।

इन्टरनेट सेवाको आचार संहिता उल्लङ्घन गरेको भन्दै झण्डै एक करोड इन्टरनेट एकाउन्ट बन्द गरिएको छ । ती वेबसाइटले आतङ्कवादीलाई सहयोग गरिरहेको तथा अश्लिल दृश्यको प्रयोग गरिरहेकाले हटाइएको बताइएको छ ।

‘यो हटाउने कार्य निकै प्रभावशाली र रक्षात्मक कदम हो’, वाङले भन्नुभयो । हटाइएको सम्बन्धी विवरण आगामी संसदीय बैठकमा पेस गरिने भएको छ । बैठक आगामी बुधबार बस्ने जनाइएको छ । रासस