अन्तर्राष्ट्रिय

भाजपा नेता जयराम ठाकुर हिमाञ्चल प्रदेशको मुख्यमन्त्री !

काठमाण्डौ । भारतको हिमाञ्चल प्रदेशको नयाँ मुख्यमन्त्री जयराम ठाकुर हुने भएका छन् । प्रदेशमा ४२ सीट जितेको भारतीय जनता पार्टीका संसदीय दलको बैठकले यो निर्णय गरेको छ । ठाकुर आगामी पाँच वर्षसम्म राज्यको मुख्य पदमा रहने छन् ।

संसदीय दलको बैठकमा पूर्व मुख्यमन्त्री प्रेमकुमार ठाकुरले जयरामको नाम प्रस्ताव गरेका थिए । सिमलामा सम्पन्न बैठकले जयराम ठाकुरलाई संसदीय दलको नेता चयन गरेको छ । यस बैठकमा जेपी नाड्डा पनि उपस्थित थिए । हिमाञ्चलमा भाजपाको संसदीय दलको बैठकमा केन्द्रका दुई पर्यवेक्षक निर्मला सीतारमण र नरेन्द्रसिंह तोमर पनि सहभागी थिए ।

जयराम ठाकुर हिमाञ्चल प्रदेशमा पाँच पटकसम्म प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । ठाकुर १९९८ मा पहिलो पटक सांसद बनेका थिए । ठाकुर सन् २००७ देखि २०१२ सम्म ग्रामिण बिकास र पञ्चायती राजमन्त्रीसमेत रहेका थिए । सन् २००९ देखि २०१३ सम्म ठाकुरले हिमाञ्चल प्रदेशमा भापजाका अध्यक्षसमेत रहेका थिए ।

जयराम ठाकुरले संसदीय दलको नेता चयन भएपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै हिमाञ्चलका जनताले भाजपाबाट ठूलो अपेक्षा राखेको बताए । आफूलाई संसदीय दलको नेता चयन गरेकोमा कृतज्ञता व्यक्त गर्दै उनले भने, ‘हिमाञ्चलमा भाजपाका सपना साकार भएको छ । कांग्रेसमुक्त हिमाञ्चल भाजपाको सपनाको प्रतिफल हो ।’

बिधानसभा चुनावमा भलै भाजपाले हिमाञ्चलमा पूर्ण बहुमत हासिल गर्यो, उसलाई दुई ठूला झड्का पनि लाग्यो । चुनावअघिसम्म मुख्यमन्त्रीका दावेदार प्रेमकुमार धुमल र भाजपा हिमाञ्चल अध्यक्ष सतपाल सत्ती आ–आफ्नो क्षेत्रमा पराजित भए । यस्तो अवस्थामा मुख्यमन्त्रीको दौडमा पाँच पटकसम्म सांसद निर्वा्चित जयराम ठाकुर र केन्द्रीय मन्त्री जयराम ठाकुर आए । जसमा सांसद ठाकुरले बाजी मारेका छन् ।