देश

जंगली हात्ती भगाउन मौरीपालन नै उपयुक्त

कञ्चनपुर । जंगली हात्ती झुण्डले यहाँस्थित मध्यवर्ती क्षेत्रका खेतबारी लगाएको अन्न खाइदिने, घर भत्काई अन्न, लत्ताकपडा, भाँडाकुँडा सबैमा नोक्सानी गरेर बिचल्ली पार्ने गरेकाले बैकल्पिक उपायस्वरुप मौरीपालन व्यावसाय उपयुक्त हुने देखिएको छ ।

बाटोमा हिँडिरहेको बटुवालाई समेत हात्तीको झुण्डले फेला पारी ज्यान लिने सम्मको कार्य यहाँ गरेको छ । हात्तीको उपद्रो रोक्नका लागि यहाँका किसानले रातिका बेला पटाका फोड्ने, बन्दुक पड्काउने, राँको बाल्ने, ट्र्याक्टरको ठुलो आवाज निकाल्ने, साइरन बजाउने, विद्युत्को मद्दतले उज्यालो पार्ने, टर्चलाइट बाल्ने, टिन ठटाउने र होहल्ला गर्दा पनि हात्तीको झुण्डले बस्तीमा छिरेर उद्दण्ड मच्चाउन छाडेको छैन ।

आक्रामक बन्दै हात्तीको झुण्डले खेतबारीमा लगाएको अन्न छाडेर घरभित्र राखेको अन्नमा बढी रुचि देखाउन थालेकाले यसबाट छुट्कारा पाउन विज्ञको सुझाव बमोजिम हात्ती बस्ती छिर्ने क्षेत्रमा मौरीका घार राख्न सुुझाव दिन थालिएको हो ।

विज्ञका सुझावका आधारमा शुक्लाफाँटा नगरपालिकाले यहाँ आयोजना गरेको कार्यक्रममा हात्ती बस्ती छिर्ने क्षेत्रमा मौरीका घार राखेर भगाउन सकिने बताएको हो । अमेरिका, केन्या लगायतका देशमा हात्तीको झुण्ड भगाउनका लागि मौरीका घार राख्ने गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुरका संरक्षण अधिकृत अनिल प्रसार्इंले बताए ।

युरोपमा पनि हात्तीको झुण्ड भगाउन प्रयोग गरिने जैविक विधि (मौरीपालन) पुरानै भए पनि यहाँका लागि नौलो हो । “हात्ती छिर्ने क्षेत्रमा मौरीको आवाज रेकर्ड गरेर बजाउने, मौरीका घार नै राख्ने लगायतका कार्य गरिए हात्ती मौरीको आवाज सुन्ने बित्तिकै भागेर जान्छ”, उनले भने, “किसानले व्यावसायिक रुपमा मौरीपालन गरे व्यावसायिक लाभ पनि लिन सक्ने र अर्कातर्फ हात्तीको झुण्ड भाग्ने भएकाले रातभर जाग्राम बस्नु नपर्ने हुन्छ ।”

लाखौँ रकम खर्चेर विद्युतीय फेन्स वायर जडान गर्नुभन्दा यो विधि निकै कम खर्चिलो र भरपर्दो हुने उनले बताए । “हात्ती छिर्ने क्षेत्रमा खेती हुने ठाउँको केही पर मसिना तारमा बाँधेर मौरीका काठका घार राख्ने, लहरै राखिएका घारहरु एकले अर्कोलाई छुने गरी बाँध्ने र हात्ती बाली नाली खान वा मान्छेका घरमा पस्न खोज्दा त्यो डोरीमा हात्ती ठोक्किएपछि घार हल्लेर बाहिर निस्केका मौरीले हात्तीलाई टोक्न जान्छ, अनि हात्ती भाग्ने गर्छ”, उनले भने ।

मौरीले कमलो छाला भएको ठाउँमा खिल छोड्ने भएकाले मौरीको आवाज आएकै ठाउँमा जान नरुचाउने गरेको उहाँको भनाइ छ । केही महिनाअघि मात्रै कञ्चनपुरकै पुनर्वास क्षेत्रमा भारत–नेपाल हात्तीको झुण्ड ओहरदोहर गर्ने क्षेत्रमा राखेको विद्युतीय घरापबाट हात्तीको ज्यान गएकाले हात्ती जोगाउनका लागि पनि मौरीको घार राख्ने विधि निकै लाभदायी हुने संरक्षण अधिकृत प्रसार्इंले बताए, “ यसबाट हात्ती संरक्षणमा टेवा पुग्नाका साथै अन्य जनावर पनि मौरीले टोक्ने डरले खेतबारीमा नपस्ने भएकाले यसको प्रयोगमा जोड दिइनुपर्छ ।”

हात्तीले दुःख दिँदै आएका निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाले घर–घरमै मौरीपालन गरे पनि घरमा हुने भौतिक क्षति र मानवीय क्षतिलाई न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । यसका लागि कोषले स्थानीय तहसँग समन्वय गरी कार्य अगाडि बढाउने योजनासमेत बनाएको उनले बताए । हात्ती भगाउनका लागि मौरीपालन विधि बेलायतको लण्डन विश्वविद्यालयका अनुसन्धनकर्ताले पत्ता लगाएको बताइएको छ ।

खुर्सानीको धुलो पनि प्रभावकारी

जंगली हात्तीको झुण्ड भगाउने अर्को जैविक विधिका रुपमा खुर्सानीको धुलो पनि प्रयोग पनि गरिँदै आएको छ । नमूनाका रुपमा गत वर्ष कञ्चनपुरकोे बाइसेविचवा र रैकवार विचवा क्षेत्रमा नौलो घरेलु प्रविधिका रुपमा खुर्सानीको धुलोलाई प्रयोगमा ल्याइएको थियो । बस्तीमा जंगली हात्ती प्रवेश गरी बालीनालीमा नोक्सानी पु¥याउने क्षेत्रको पहिचान गरी स्थानीय बासिन्दाले इलाका वन कार्यालय नौरंगाको सहयोगमा खुर्सानीको धुलोको सहायताले हात्ती भगाउने जुक्ति निकालेका थिए । डोरीमा मोबिल, तेल र सुकेको खुर्सानको धुलोको लेप बनाई छेकवार निर्माण गरी हात्ती भगाउने कार्य गरेका थिए ।

तारवारजस्तै तीनवटा खुर्सानीको लेप लगाइएका डोरी बाँधेर हात्ती छिर्ने ठाउँमा छेकवार बनाउने कार्य गरिएपछि डोरीमा खुर्सानीको धुलो छउन्जेलसम्म त्यस क्षेत्रमा हात्तीका झुण्ड प्रवेश नगरेको पाइएको थियो । दुई किलोमिटर क्षेत्रमा नमूनाका रुपमा त्यस्तो छेकवार निर्माण गरिएको थियो । डोरीमा लगाइएको खुर्सानीले हात्तीले छिर्न खोज्दा पोल्ने हुनाले भित्र पस्न नपाउँदै भाग्ने गरेका थिए । खुर्सानीको धुलोको लेप बनाई डोरी बाँध्ने कार्यलाई समेत हात्ती पीडित क्षेत्रका बासिन्दाले अपनाउनुपर्ने देखिन्छ ।