राजनीति

माओवादी अध्यक्ष दाहालले काँग्रेसमाथि लगाए गम्भीर आरोप, के भने ?

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काँग्रेसकै सहमतिमा बहुमतीय प्रणाली मार्फत राष्ट्रियसभा गठन गर्ने विधेयक राज्यव्यवस्था समितिबाट पास गरिए पनि काँग्रेसले उल्टाएको आरोप लगाएका छन ।

काँग्रेसमाथि आक्रामक रुपमा प्रस्तुत भएका दाहालले स्थानीय तहको पहिलो चरणको चुनावको परिणामबाट काँग्रेस डराएको र राष्ट्रियसभामा शून्य हुन्छौं भनेर त्यसलाई उल्ट्याएर एकल संक्रमणीय प्रणालीको व्यवस्था राखेर अध्यादेश तयार पारेको बताए ।

हेर्नुस् अध्यक्ष दाहालको भनाई जस्ताको तस्तै

अहिले राष्ट्रियसभा गठन सम्बन्धमा केही विवाद देखिएका छन् । त्यो संवैधानिक थोरै र धेरै राजनीतिक विषय छ । राष्ट्रिय सभाका बारेमा समाधान छिट्टै हुन्छ । छिटोभन्दा छिटो सरकार गठन हुन्छ ।

राष्ट्रिय सभा गठन सम्बन्धमा निर्वाचन आयोगले विधेयक ड्राफ्ट गरेको थियो । त्यसमा बहुमतीय आधारमै गठन गर्ने उल्लेख छ । त्यही स्प्रिटका साथ अघि बढेको थियो ।

बहुमतीय आधारमै गठन गर्ने भन्ने ड्राफ्ट क्याविनेटमा आयो । हामीले क्याविनेटबाट सर्वसम्मत ढंगबाट पास गर्यौं । क्याविनेटबाट विस्तृत छलफलका लागि सदनमा पठाइयो । संसदको राज्य व्यवस्था समितिबाट पनि छलफल भएर सर्वसम्मत पास भएर अघि बढ्यो ।

तर, त्यसैबेला पहिलो चरणको स्थानीय चुनाव भयो । जतिवेला म आफै प्रधानमन्त्री थिएँ । त्यसको नतिजा वामपन्थीको पक्षमा आयो । वाम गठबन्धन नभएपनि एमाले र माओवादीको मत जोड्दा धेरै नै बढी देखिन्थ्यो । त्यसले गर्दा नेपाली काँग्रेसका साथीहरुलाई बहुमतीयमा गए शून्य हुन्छौं भन्ने बुद्धि पलायो र उहाँहरु संशोधन गरेर उल्ट्याउने तिर लाग्नुभयो ।

उहाँहरुले एकल संक्रमणीय प्रणालीको कुरा गर्नु भएको छ । काँग्रेसकै सहमतिमा राज्य व्यवस्था समितिसम्म पास भएको यो विधेयकमा काँग्रेसकै कारण विवाद सुरु भएको हो ।