खेलकुद

४ नम्बर प्रदेशस्तरीय ‘मेयर कप फुटबल’ माघमा

बागलुङ । प्रदेश नं ४ स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ यहाँ आगामी माघमा हुने भएको छ ।

बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता माघ १६ देखि २४ गतेसम्म चल्नेछ । स्थानीय बाङ्गेचौर र भकुण्डे खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

नगरपालिका आफैँले पहिलोपटक ठूलो राशिको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा भाग लिनका लागि ४ नं प्रदेशका सबै नगरपालिकालाई आह्वान गरिएको छ । ‘खेलकुद विकासलाई प्राथमिकतामा राखेर प्रतियोगिता राखेका हौँ’, नगरपालिका प्रमुख जनकराज पौडेलले भने । ‘खेलाडी र समग्र खेलजगत्लाई प्रतियोगिताले उत्प्रेरित गर्ने हामीले विश्वास लिएको छ ।’

प्रतियोगिताका विजेताले दुई लाख २२ हजार २२२ र उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई सम्मानस्वरुप रु पाँच पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै सेमिफाइनलमा पुग्ने समूहलाई दैनिक भत्तासमेत व्यवस्था गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघले सहयोगी भूमिका खेल्नेछन् । प्रतियोगितामा ४ नं प्रदेशका १२ भन्दा बढी नगरपालिकाबाट खेलाडी सहभागी गराउने लक्ष्य लिइएको छ ।