राजनीति

किसुनजीको जन्मजयन्तीमा ओली प्रमुख अतिथि भएपछि, कांग्रेस नेताहरुका यस्ता टिप्पणी !

काठमाण्डौ । नेपाली कांग्रेसका सन्त नेता स्व.कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्तीका अवसरमा आयोजित एउटा विषयलाई लिएर अहिले नेपाली कांग्रेसका शीर्ष र प्रभावशाली नेताहरुले नै असन्तुष्टी जनाएका छन् । सादगी र सन्त नेताका रुपमा परिचित स्व.भट्टराईको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएपछि कांग्रेस नेतृत्वले नै असन्तुष्टि जनाएको हो ।

शनिबार ललितपुरस्थित बाँडेगाउँमा आयोजित जन्मजयन्ती कार्यक्रममा एउटा अर्को अनौठो दृष्य पनि देखियो, त्यो के भने कांग्रेसका संस्थापक नेताकै रुपमा परिचित स्व.भट्टराईको जन्मजयन्तीमा पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुको उपस्थिति थिएन । एमाले अध्यक्ष ओली प्रमुख अतिथि रहेको सो कार्यक्रममा भर्खरै काठमाण्डौ क्षेत्र नम्बर १ बाट निर्वाचित कांग्रेस नेता प्रकाशमानसिंह, प्रदिप गिरी लगायतका नेताहरु भने सहभागी भएका थिए ।

आफ्नै पार्टीका एकजना आदर्श पुरुषको जन्मजयन्तीमा पार्टीको शीर्ष नेतृत्वलाई प्रमुख अतिथि बनाउनुको साटो एमाले अध्यक्ष ओलीलाई निम्त्याइएपछि कांग्रेसभित्र चरम असन्तुष्टि चुलिएको हो । कांग्रेसका प्रभावशाली नेता नारायण खड्काले वाडेगाउँमा आयोजित सो कार्यक्रमको विषयलाई लिएर सामाजिक सञ्जालमा असन्तुष्टि नै पोखेका छन् ।

उनले आइतबारका छापाहरुमा वाडेगाउँको समाचार पढ्न पाइएको र त्यो कार्यक्रमको उद्धेश्य बलेकै आगो ताप्नेहरुको स्वार्थमा लिप्त भएको भन्दै कठोर ब्यंग्य गरेका छन् । नेता खड्काले स्व.नेता भट्टराईको जन्मजयन्तीमा एमाले अध्यक्ष ओलीलाई प्रमुख अतिथि बनाइएको प्रति ब्यंग्य गर्दै उपस्थिति नेता र बौद्धिक व्यक्तित्वहरुले स्व.भट्टराईको साटो ओलीकै वर्णन र व्याख्या गर्नमा समय खर्चिएको आरोप लगाए ।

डा.खड्काले पार्टीभित्रैका बौद्धिक र आध्यात्मिक व्यक्तित्वका रुपमा चिनिएका नेताहरुप्रति समेत कटाक्ष गर्न भ्याएका छन् । उनले ओलीको वर्णनमा समय खर्चिनुले समकालीन समाजमा बलेकै आगो ताप्नेहरुको जमात भेटिने गरेको आरोप समेत लगाएका छन् । उक्त कार्यक्रममा कांग्रेसकै केही नेताहरुले ओलीको बारेमा वर्णन गरेको सुनिन्थ्यो भने ओली आफैले भने भट्टराईको बारेमा बढीनै प्रशंसा गरेको सुनिन्थ्यो ।

जन्मजयन्तीमा किन गएनन् कांग्रेस शीर्ष नेता ?
कांग्रेसभित्र सन्त र सादगी जीवन व्यतित गरी आदर्श पुरुषको रुपमा उपमा पाएका स्व.कृष्ण प्रसाद भट्टराईलाई पार्टीभित्रै एउटा युग हाँक्ने नेताका रुपमा चिनिन्थ्यो । कांग्रेसभित्र दिवंगत नेताहरु वीपी कोइराला, गणेशमानसिंह,कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराल, सुशील कोइराला लगायतलाई पार्टीले निकै उच्च र आदर्श नेताहरुको रुपमा लिने गर्छ ।

तिनै नेताहरुमध्ये एक हुन्, भट्टराई । तर स्व.भट्टराईकै निवास रहेको वाडेगाउँमा आयोजित जन्मजयन्ती कार्यक्रममा कांग्रेस सभापति देउवा लगायतको शीर्ष नेतृत्व पुगेन ।

सम्भवतः आयोजक पक्षले एमाले अध्यक्ष केपी ओलीलाई प्रमुख अतिथि बनाएका कारण कांग्रेस नेतृत्व त्यहाँ उपस्थित नभएको हुनसक्छ । तर यहाँनेर के प्रश्न उठ्छ भने भट्टराईको जन्मजयन्ती मनाउन एमाले अध्यक्ष ओलीलाई किन प्रमुख अतिथि बनाइयो ? पार्टी सभापतिनै यो देशको प्रधानमन्त्री रहेको बेला आयोजक पक्षले किन विपक्षी पार्टीका अध्यक्षलाई प्रमुख अतिथि बनायो ?

यो विषयमा आन्तारिक कुरा बाहिर नआएपनि कांग्रेसभित्र बलेको आगो ताप्नेहरुकै जमात बढिहेको यो घटनाले पुष्टि गर्छ । अबको केही दिनभित्रै ओली यो देशको प्रधानमन्त्री हुँदैछन् भन्ने मात्र होइन एमालेको देशव्यापी प्रभाव बढिरहेको र कांग्रेसको प्रभाव खस्किरहेको भन्दै आयोजक पक्षले यो निर्णय गरेको हो भने त्यो सरासर गलत निर्णय भएको कांग्रेसका नेता–कार्यकर्ताहरु बताउँछन् । आयोजक पक्षको यो निर्णयले कांग्रेसको आदर्श र त्यसलाई जोगाएर यहाँसम्म ल्याउने स्व.भट्टराईहरुकै अपमान गर्ने उनीहरुको तर्क छ ।