राजनीति

नेबिसंघभित्र अध्यक्ष महरको ब्यापक बिरोध, तयार भयो १० बुंदे मागपत्र

काठमाडौँ । नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९४ औँ जन्मजयन्तीको अवसर पारेर युवा विद्यार्थीले पार्टी र भातृ संगठनभित्र सुधारको अभियान शुरु गरेका छन् ।

नेपाल विद्यार्थी संघका बहुमत केन्द्रीय पदाधिकारी एवं सदस्यहरुको आज बाल्मीकि विद्यापीठमा भएको भेलाले पार्टी र संघभित्र सुधारका लागि १० बुँदे मागपत्र तयार पारेको छ । मागपत्र आइतबार पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइने संघकी उपाध्यक्ष उर्मिला थपलियाले जानकारी दिईन् ।

‘रुपान्तरित काँग्रेसका लागि सदृढ नेवि संघ’ अभियानअन्तर्गत आज भेला गरिएको उनले बताए । भेलामा ११ औँ महाधिवेशनमा अध्यक्षका प्रतिष्पर्धी मनोजमणि आचार्य समूहका नेताको सहभागिता थियो । जसमा ६४ सदस्यीय केन्द्रीय समिति मध्ये बहुमतको उपस्थिति थियो ।

“स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसको हार पार्टी र भ्रातृ संस्था सबैको अकर्मण्यताका कारण भएको हो, अब सुधारको शुरुवात हुनुपर्छ, सुधार अभियान नेवि संघबाट गर्न हामी लागेका छौँ, आजको भेलाले तयार पारेको मागपत्र सभापति वरिष्ठ नेता र महामन्त्रीलाई बुझाउँछौँ”–उनले भने ।

एक हप्ताभित्र अधिकांश नेता कार्यकर्ताको भावनाबमोजिम संगठनमा सुधार नगरिए समानान्तर समिति गठन गर्नसमेत बाध्य हुनुपर्ने नेताहरुको भनाइ छ । निर्वाचनका बेला नेवि संघ अध्यक्ष नैनसिंह महर प्रचारप्रसार छोडेर विधान विपरीत आमन्त्रित केन्द्रीय सदस्य र महामन्त्रीको चिट्ठी बाँडेर बसेको नेताहरुको गुनासो थियो ।

‘बलियो काँग्रेसका लागि सशक्त नेवि संघ’ अभियान पनि संगै शुरु गरिने विद्यार्थी नेताहरुको भनाइ छ । अध्यक्ष महरले विवाद भएका जिल्ला र क्याम्पसमा अर्को अधिवेशन नगराउँदा संगठन विस्तार नभएको आरोप विद्यार्थी नेताहरुको छ । यस सम्बन्धमा अध्यक्ष महरसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।