राजनीति

एमालेसँग पार्टी एकता गर्नुअघिनै माओवादी केन्द्रभित्र पहिरो जाने संकेत !

काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुने विषयले अहिले विशेष प्राथमिकता पाइरहेका बेला माओवादी केन्द्रभित्रै पार्टी एकताविरोधी समुह निर्माण हुन थालेको छ ।

केही दिनअघिसम्म पार्टी नेताहरु आहुति लगायतकाले सुरु गरेको यो एलायन्समा अन्य नेताहरु पनि थपिने क्रम सुरु भएको श्रोतहरुले बताउन थालेका छन् । सो पार्टीभित्र अहिले माओवादी केन्द्रको नीति र सिद्धान्तलाई नै एमालेमा लगेर बिलय गराउन सुरु गरिएको भन्दै विद्रोह नै सुरु भएको छ ।

नेताहरु गोपाल किराँती, विश्वभक्त दुलाल आहुति,बलराम तिमल्सिना लगायतले विद्रोही समूहनै तयार पारिरहेका खबरहरु बाहिर आइरहेका छन् ।

उनीहरुलाई स्थायी कमिटी स्तरका नेताहरुले समेत संरक्षण गरिरहेको बताइएको छ । श्रोतका अनुसार स्थायी कमिटीका कुन–कुन नेताहरुले उनीहरुलाई संरक्षण दिइरहेका छन् भन्ने कुरा भने बाहिर आएको छैन ।

एमालेसँगको एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउने निर्णय यतिबेला गरिरहेको छ तर यति नै बेला माओवादी केन्द्रभित्र भने एकताको विषयलाई लिएर चरम असन्तुष्टि पनि बढेको भन्ने कुरा सत्य भएको एक नेताले बताए ।

असन्तुष्ट समूह भरसक एकता प्रयास विफल पार्ने वा नसके पार्टी एकताको विरोध गर्दै बाहिरै बस्ने रणनीतिमा अघि बढेको खुलाशा भएको छ । एकता विरोधीको समेत दुई पक्षमा विभाजित छ । एक पक्षको नेतृत्व गोपाल किराती र अर्को पक्षको नेतृत्व विश्वभक्त दुलाल ‘आहूति’ ले गरेका छन् उनले पुष्टि गरे ।

पार्टी एकता गर्न नहुने भन्ने तर्क पनि दुई नेताको फरक–फरक किसमको रहेको छ । किरातीले एमालेसँग एकताको कुरा गर्दा नेतृत्वले माओवाद र पहिचानको मुद्दा अलपत्र पारेर एमालेमा समाहित हुन खोजेको आरोप लगाएका छन् ।

आहूतिले भने माओवादी एमालेमा मिसिनुलाई ‘परम्परागत संसदीय भासमा फस्नु’ भएको तर्क गर्दै एकता प्रयासबारे विमति राख्दै आएका छन् । तत्कालिन नेकपा माओवादीले वर्गीय मुक्तिसँगै जातीय मुक्तिको नारा दिएकाले विचार मिलेका कारण माओवादी आन्दोलनमा समाहित भएको तर्क किरातीको छ ।

किरातीले एमालेसँग चुनावी तालमेल र पार्टी एकताको घोषणा भएलगत्तै माओवादी केन्द्र पुनगर्ठन गर्ने भन्दै विज्ञप्ति नै जारी गरेका थिए । त्यतिबेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताले माक्र्सवाद र पहिचानको मुद्दा नछाडेको बताएपछि उनी फकिएका थिए ।

यद्यपि पछिल्लो समय उनी पार्टीको सक्रिय गतिविधिमा छैनन् । सोमबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय कार्यालयको बैठकमा समेत किराती गएनन् ।

आहूति माओवादीमा माक्र्सवादको गहिरो शास्त्रीय अध्ययन गरेका वैचारिक नेता हुन् । उनले वषौंदेखि आदरपूर्वक नेता मान्दै आएका नारायणकाजी श्रेष्ठ भने पार्टी एकताका सूत्राधार बनेका छन् ।

श्रेष्ठ कुनै हालतमा एकता भाँडिन नहुने भन्दै गोरखा–२ बाट निर्वाचनमा पराजित भएपछि पनि एकता प्रयासलाई सार्थक निस्कर्षमा पुर्याउन सक्रिय भएका छन् ।

आफूहरुको असहमतिबीच पार्टी एकता भए त्यसमा सहभागी नहुने निस्कर्षमा किराती र आहूति पुगेका छन् । तर, एकता गर्न नहुने फरकफरक कारण औंल्याएका उनीहरु एक हुने सम्भावना भने कमै छ । दुवै नेताले आफूसँग समान धारणा राख्ने पार्टी नेता कार्यकर्तासँगको छलफल तीव्र पारेका छन् ।

यता कृष्णबहादुर महराले पनि हिजोको पार्टी मिटिंगमा एमाले सँग आफूहरुले चुनावी तालमेल मात्र गरेको र एमाले सँग पार्टी एकता गर्न कठीन रहेको जनाएका थिए ।

यो अवस्थामा पार्टी एकता हुने वा नहुने भन्ने यसै भन्न नसकिने देखिएको छ। पार्टी एकता नै भए पनि माओवादी केन्द्रका असन्तुष्ट नेताहरुले के गर्लान् रु भन्ने पनि सोचनीय विषय बनेको छ ।