पु.समाचार

यस्तो छ प्रदेशसभा समानुपातिक निर्वाचन अन्तिम नतिजा

काठमाडौँ । निर्वाचन आयोगले गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सात वटै प्रदेशमा दलले प्राप्त गरेको सिट संख्या आज सार्वजनिक गरेको छ ।

आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृत वेगेन्द्रराज शर्माले आयोगमा आज आयोजित पत्रकार सम्मेलनमार्फत दलले प्राप्त गरेको कुल सिट संख्या २२० सार्वजनिक गरे ।

एमाले ७५ र काँग्रेस ७२

आयोगका अनुसार नेकपा (एमाले) प्रदेश नं १ मा १५, प्रदेश नं २ मा ७, प्रदेश नं ३ मा १६, प्रदेश नं ४ मा १०, प्रदेश नं ५ मा १३, प्रदेश नं ६ मा ६ र प्रदेश नं ७ मा ८ सिट प्राप्त गर्न सफल भएको छ ।

त्यस्तै नेपाली काँग्रेसले प्रदेश नं १ मा १३, प्रदेश नं २ मा ११, प्रदेश नं ३ मा १४, प्रदेश नं ४ मा ९, प्रदेश नं ५ मा १२, प्रदेश नं ६ मा ५ र प्रदेश नं ७ मा ८ सिट प्राप्त गरेको सचिव पौड्यालले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ मा ५, प्रदेश नं २ मा ५, प्रदेश नं ३ मा ८, प्रदेश नं ४ मा ३, प्रदेश नं ५ मा ६, प्रदेश नं ६ मा ४ र प्रदेश नं ७ मा ४ सिट प्राप्त गर्न सफल भएको छ ।

संघीय समाजवादी फोरम नेपालले प्रदेश नं १ मा २, प्रदेश नं २ मा ९ र प्रदेश नं ५ मा २ तथा राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नं २ मा १०, प्रदेश नं ५ मा १ र प्रदेश नं ६ मा १ सिट पाएका छन् ।

आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश नं १ मा एक, प्रदेश नं ३ मा एक र प्रदेश नं ६ मा एक सिट प्राप्त गरेको छ भने विवेकशील साझा पार्टीले प्रदेश नं ३ मा प्रदेशसभातर्फ तीन सिट जितेको छ । राष्ट्रिय जनमोर्चाले प्रदेश नं ४ र ५ मा एक÷एक सिट प्राप्त गरेको छ ।

साना ५ पार्टीलाई एक–एक

नयाँ शक्ति पार्टी प्रदेश नं ४ मा एक तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश नं १ मा एक स्थान प्राप्त गर्न सफल भएका छन् । नेपाल संघीय समाजवादी पार्टीले प्रदेश नं २ मा एक, नेपाल मजदुर किसान पार्टीले प्रदेश नं ३ मा एक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले प्रदेश नं ३ मा एक स्थान प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिकतर्फ प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी २२० स्थानका लागि मतदान भएको थियो ।

१३ दल प्रदेशसभामा
आयोगका अनुसार प्रदेशसभा सदस्यमा एमाले ७५, काँग्रेस ७२, माओवादी केन्द्र ३५, फोरम नेपाल १३, राजपा १२, राप्रपा र विवेकशील साझा पार्टी तीन तीन, जनमोर्चा दुई तथा नयाँ शक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेमकिपा र राप्रपा(प्रजातान्त्रिक) एक एक स्थान प्राप्त गर्न सफल भएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभामा समानुपातिकतर्फको २२० स्थानका लागि दलले प्राप्त गरेको सिट संख्यालाई आज अनुमोदन गरेको हो । आयोगका अनुसार प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचनतर्फ भाग लिएका राजनीतिक दलमध्ये १३ दलले प्रदेशसभामा प्रवेश पाएका हुन् ।

राजनीतिक दलले गत कात्तिक २७ गते समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको उम्मेदवारको संशोधित बन्द सूचीअनुसार प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार ५६५ उम्मेदवार प्रतिष्पर्धामा थिए ।

दलले बन्दसूचीमा रहेका उम्मेदवारको समावेशी समूहबाट दर्ता सूचीअनुसार मात्रै विजयी उम्मेदवारको नाम आयोगलाई सिफारिश गर्नसक्ने व्यवस्था छ । प्रदेशसभामा खसेको सदर मतको १.५ प्रतिशत नघाउने दलले मात्र समानुपातिकतर्फको प्रदेशसभा सदस्य सिट प्राप्त गर्ने व्यवस्था छ ।