आर्थिक

प्रदेश र प्रतिनिसभा निर्वाचनमा २० अर्ब खर्च

काठमाडौं  । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सरकारले करिब २० अर्ब रुपैयाँ खर्च गरेको छ। मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न निर्वाचनका लागि सरकारले गृह मन्त्रालय, निर्वाचन आयोग र अन्य सरकारी निकायमार्फत १९ अर्ब ८५ करोड ८८ लाख रुपैयाँ खर्च गरेको अर्थ सचिव शंकरप्रसाद अधिकारीले जानकारी दिए।

योमध्ये १० अर्ब रुपैयाँ निर्वाचन आयोगले चुनाव व्यवस्थापनमा खर्च गरेको हो। दुई चरणमा सम्पन्न निर्वाचनबाट प्रदेशसभामा पाँच सय ५० र प्रतिनिधिसभामा दुई सय ७५ सांसद चुनिएका छन्। प्रतिनिधिसभा सदस्यतर्फ एक सय २८ र प्रदेशसभातर्फ दुई सय ५६ गरी जम्मा तीन सय ८४ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको छ। मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ क्षेत्रमा मतदान भएको थियो।

सरकारले मंसिर १० र २१ गतेको चुनावी सुरक्षाका लागि ९८ हजार एक सय ६८ म्यादी प्रहरी भर्ना गरेको थियो। उनीहरूको तलब, भत्ता र अन्य सुविधाका लागि पाँच अर्ब तीन करोड खर्च भएको अर्थ मन्त्रालयको हिसाब छ।

गृह मन्त्रालयले सुरक्षा व्यवस्था मजबुद बनाउन, सुरक्षा र प्रशासनिक खर्च गर्न नेपाल प्रहरीले दुई अर्ब ७७ करोड ४५ लाख खर्च भएको छ। शुक्रबारको अन्नपूर्णमा लेखिएको छ,  यसमा गृह मन्त्रालयले चुनावको व्यवस्थापनमा आठ करोड २१ लाख र नेपाल प्रहरीतर्फ दुई अर्ब ६९ करोड २४ लाख खर्च भएको छ। यसैगरी सशस्त्र प्रहरीले एक अर्ब १६ करोड खर्च गरेको छ।