प्रवास

एनआरएनए यूएईको अध्यक्षमा कार्की नियुक्त

यूएई । गैरआवासीय नेपाली संघ एनआरएनए यूएई क्षेत्रीय समिति अबुधाबकिो अध्यक्षमा दुर्योधन कार्की नियुक्त भएका छन् ।

गत अगस्ट ३१ मा भएको अधिवेशनले अध्यक्षबाहेक सबै पदमा पदाधिकारीहरुको टुंगो लगाए पनि सेप्टेम्बर ८ लाई सारिएको अध्यक्षको चयन प्रक्रिया चार महिनाको अन्योलता पछि कार्कीलाई अध्यक्षको जिम्मेवारी सुम्पदै सकिएको हो ।

विगत १४ वर्षदेखि अबुधाबीको इमिरेट्स पेट्रोल केमिकल सर्भिस कम्पनीमा कार्यरत कार्की अत्यन्तै मिलनसार र सहयोगीका रुपमा अबुधाबी क्षेत्रमा परिचित छन् ।

झापा स्थायी घर भएका कार्की सन् २००७ मा एनआरएन अभियानमा संलग्न थिए । झापाली समाज यूएईको क्षेत्रीय समिति अबुधाबीको उपाध्यक्ष पदमा रहेका कार्कीसँग ६ महिना कार्यबाहक अध्यक्ष चलाएको अनुभव समेत छ ।