खेलकुद

पिएसजीको प्रभावशाली जित

एजेन्सी ।  फ्रेन्च लिग वान फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले प्रभावशाली जित निकाल्दै ९ अंकको अग्रता कायम गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले कँनलाई ३–१ ले हराएको हो ।

पिएसजीको जितमा एडिसन काभानी, केलियन एमबाप्पे र युरी बेर्चिचे इजेटाले गोल गरे । कँनका लागि सान्तिनीले एक गोल फर्काए । २१ औं मिनेटमा काभानीको गोलबाट पिएसजीले सुरुवाति अग्रता लियो । काभानीले एमबाप्पेको पासमा सुन्दर गोल  गरेका हुन् ।

काभानीले लिगमा यो सिजन १९ गोल गरिसकेका छन् । पहिलो हाफमा १–० ले अघि रहेको पिएसजीका लागि ५७ औं मिनेटमा एमबाप्पेले गोल गरे । काभानीको गोलका लागि सहयोग गरेका एमबाप्पेले आफ्नो १९ औं जन्मदिनमा गोल पनि गरे । मोनाकोबाट यहि सिजन आएका एमबाप्पेले अहिलेसम्म पिएसजीका लागि १२ गोल गरिसकेका छन् ।

लिग वानमा  पछिल्लो १० सिजनमा आफ्नो जन्मदिनमा गोलका लागि सहयोग गर्ने र गोल पनि गर्ने एमबाप्पे पहिलो खेलाडी हुन् । ८१ औं मिनेटमा युरीले गोल गर्दै पिएसजीको अग्रता ३–० मा पुर्‍याए । तर ९० औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग  गर्दै सान्तिनीले कँनका लागि एक गोल फर्काए र पिएसजी ३–१ ले विजयी भयो । यो खेलमा नेइमारले गोल गर्न सकेनन् ।