पु.समाचार

अब एमाले र माओवादी खोजेर पनि नभेटिने केपी ओलीको दाबी

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनभित्रै एमाले र माओवादी केन्द्रबी एकता हुने बताएका छन् । उपत्यकाबाट विजयी वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुलाई बधाई दिन बुधबार राष्ट्रिय सभा गृहमा गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अब दुई पार्टीबीचको एकतालाई औपचारिकता दिन मात्रै बाँकी रहेको बताएका छन् ।

‘अहिले पनि हाम्रो एकता भाँड्न केही मानिस लागिरहेका छन्’, उनले भने, ‘नभएका कुरा यताबाट उता पुर्याउने र उताबाट यता ल्याउने भइरहेको छ । अब पार्टी एकता भएर छाड्छ, आत्तिनुपर्दैन ।’

बिहीबारको अन्नपूर्णमा लेखिएको छ,  माओवादी र एमाले चाँडै एउटा पार्टी बन्नुको विकल्प नभएको बताउँदै ओलीले हल्लाको पछि नलाग्न आग्रह गरे । अध्यक्ष ओलीले छिट्टै नयाँ सरकार बन्ने पनि विश्वास व्यक्त गरे ।

‘अरुले भनेजस्तो हल्लाको पछि नलाग्नुहोस्, एमालेले माओवादी निल्ने कुरा पनि गलत हो’, उने भने, ‘अब एमालेले माओवादी निल्छ, माओवादीले एमाले निल्छ, त्‍यसपछि नयाँ र तेस्रो धारको पार्टी बन्छ । त्यसपछि यी दुई पार्टीलाई खोज्दा पनि भेटिने छैनन् ।’