खेलकुद

अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता नहुने

नवलपरासी । हरेक वर्ष यही याममा नवलपरासीमा आयोजना हुने गरेको अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता यस वर्षबाट नहुने भएको छ ।

जिल्लामा ३५औँ संस्करणसम्म लगातार सफलतापूर्वक सम्पन्न गरिएको हात्तीपोलो प्रतियोगिता यस वर्षबाट नखेलाउने आयोजक टाइगर टप्सले जनाएको छ ।

हरेक वर्ष यही याममा गरिँदै आएको सो खेल हेर्न बाह्य पर्यटक नवलपरासी आउने गरेका थिए । हात्ती माथि बसेर घुमाउन बन्द गरिएका कारण सो प्रतियोगिता बन्द गर्नु परेको टाइगर टप्सका प्रबन्ध निर्देशक डिबी चौधरीले बताए।

“जनावरलाई दुःख दिने संस्कृतिको अन्त्य गर्न प्रतियोगिता बन्द गर्ने निर्णय गरेका हौँ,” उनले भने । वन्यजन्तु पर्यटनलाई नयाँ रुपमा विकास गर्न जनावरलाई भारी हुने काम नगराउने तथा घण्टौँ पर्यटक हात्तीमाथि राखेर घुमाउने काम बन्द गरेका कारण खेल बन्द गरिएको चौधरीको भनाइ छ ।