पु.समाचार

निर्वाचित सांसद नवराज सिलवालविरुद्ध मुद्दा दर्ता, पक्राउ गर्न प्रहरी परिचालन

काठमाण्डौ । प्रतिनिधि सभा सांसद निर्वाचित भएका नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको मुद्दा परेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख एसएसपी रवीन्द्र धानुकले बुधबार परिसरमा सिलवालविरुद्ध मुद्दा परेको पुष्टि गरेका छन् ।

मुद्दा दर्ता भएसँगै सिलवाललाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उच्च प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएपछि तत्कालीन डीआईजी सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा गएका थिए ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गर्नुका साथै कार्यसम्पाद मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दियो । सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुख बनायो ।

त्यसमा असन्तुष्ट सिलवाल फेरि सर्वोच्च गए । तर, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको पूर्ण इजलासले उनको मागदाबी अस्वीकार गर्‍यो ।

आईजीपी बन्न नपाएपछि एमाले प्रवेश गरेका सिलवाल ललितपुर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने । उनी सांसद बन्न पाउँदा नपाउँदै सर्वोच्चले फैसलाको पूर्ण पाठ सार्वजनिक गर्‍यो, जसमा सिलवालले बुझाएको र लोकसेवाबाट प्राप्त कार्यसम्पादन मूल्यांकनमा फरक फरक अंक देखिएको भन्दै यसमा संलग्नमाथि छानविन गरी कारबाही गर्न आदेश दिइएको छ ।

सर्वोच्चको फैसलाको पूर्णपाठ आएपछि प्रहरीले सिलवालमाथि सरकारी कागज कीर्तेमा जाहेरी गर्दा गर्दै अनुसन्धान थालेको हो । अब सिलवाल पक्राउ परेमा २४ घन्टाभित्र अदालतमा उपस्थित गराउनु पर्नेछ र त्यसपछि मुद्दा दायर हुन्छ ।