राजनीति

४० लाख युवालाई स्वदेश नफर्काए हाम्रो जित काम छैनः नेता श्रेष्ठ

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भर्खरै सम्पन्न निर्वाचनबाट नेपाली जनताको जीत भएको बताएका छन् । राजनीतिक अस्थिरताको अन्त्यसहित आर्थिक क्रान्तिको सम्भावनाको ढोका खुलेको र यसका लागि वाम गठबन्धनको जीत निश्चित रहेको उनको भनाइ थियो ।

पार्टी एकता संयोजन समितिका नेतासमेत रहेका श्रेष्ठले यो विजयको सुरुवात भएको बताउँदै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको दिशामा लागेर सफलताको दिशातर्फ लागेपछि मात्र वास्तविक विजय हुने धारणा राखे ।

‘४० लाख युवालाई स्वदेश फर्काएर स्वदेशमै श्रम शक्ति खर्च गर्ने वातावरण निर्माण नगरेसम्म वास्तविक जीत भएको मानिनेछैन’, उनले भने, ‘अब हामीसँग कुनै निहुँ सन्दर्भ जोडेर हामीले सकेनौँ भन्न सक्ने अवस्था छैन । त्यसकारण सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा आफूलाई केन्द्रिकृत गर्नुपर्छ ।’

भ्रष्टाचार र भ्रष्टीकरणको अन्त्य गरेर जानुपर्ने र घोषणापत्रअनुसार गएमा मात्र कम्युनिस्टको लगातार जीतलाई कसैलाई रोक्न नसक्ने उनको भनाइ थियो । ‘अब सबै काम, कार्यक्रम एकीकृत कम्युनिस्ट पार्टीको ब्यानरबाट गर्ने वातावरण छिट्टै बनाउनुपर्छ’, उनले भने, ‘सबै समस्या छिचोलेर पार्टी एकतालाई अगाडि बढाउन ठोस कार्यक्रम लिएर हामी छिट्टै आउनेछौँ ।’

वामपंथी मिलेर एकताबद्ध हुनासाथ अनिष्ट हुन थाल्यो भनेर प्रचार गर्न थालिएको र यो परिणामलाई स्पष्ट देख्दादेख्दै सरकार निर्माण प्रक्रियालाई अवरोध गर्न खोजिएको उनको आरोप थियो ।

‘आवश्यकता पर्दा देशका हितमा सहमति र सहकार्य गर्छौं’, उनले भने, ‘लोकतन्त्रको मूल मान्यता निर्वाचित शक्तिलाई रोक्न खोज्नेलाई हामी छाड्दैनौँ । सबै एक भएर सरकार गठन तथा एउटै पार्टी बनाउने दिशामा जाअौँ ।’