पु.समाचार

वीरगञ्जको सुपर ग्यास उद्योग प्लान्टमा भीषण आगलागी, दुई कामदारको जलेर मृत्यु

वीरगञ्ज । पर्साको सुपर ग्यास उद्योगको प्लान्टमा भीषण आगलागी भएको छ । वीरगञ्ज– १८ भवानीपुरमा रहेको उक्त ग्यास उद्योगमा बिहान करिब ६ बजेदेखि ग्यास भण्डारण ट्याङकीबाट ग्यास लिक भएर आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि परिचालित दमकल पनि जलेको छ । परिचालित बरुणयन्त्र जलेपछि आगलागी नियन्त्रणको थप कुनै पनि प्रयास भएको छैन ।

घटनामा परी दुई जनाको मृत्यु भइसकेको छ । मृतक कामदार वा अग्नि नियन्त्रक भन्ने पुष्टि भएको छैन । घाइते कामदार अमिका पटेल र सुरक्षा गार्ड सन्दिप नेपालको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ ।

विश्वकर्मा सिमेन्ट उद्योग नजिकै रहेको प्लान्टभित्र रहेका सबै ग्यास बुलेट पनि जलेर नष्ट भएका छन् । ग्यास बुलेटबाट प्लान्टमा सार्ने क्रममा लिक भइ आगलागी भएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक शान्तिकुमार कार्की बताए ।

प्रहरीले स्थानीयलाई आगलागीको ५ सय मिटर पर नै रोकेको छ । ग्यास बुलेट पड्किएको आवाज परेसम्म सुनिएको छ। प्लान्ट जलेर निस्किएको धुँवाले आसपासको क्षेत्र समेत ढाकेको छ ।

सात वर्ष पहिले सुरु भएको उद्योग अवुलेश अन्सारीको हो । अवुलेश वीरगञ्ज हेल्थ केयर हस्पिटलका सञ्चालक पनि हुन् ।