पु.समाचार

शिक्षा कार्यालयलाई काठमाण्डौ महानगरको चेतावनीः हाम्रो काममा हस्तक्षेप नगर

काठमाण्डौ । काठमाण्डौ महानगरले जिल्ला शिक्षा कार्यालय काठमाण्डौलाई संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तन नगराउन सचेत गराएको छ ।

मंगलबार महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै पुस १ गते संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तनको सूचनामा महानगरको ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा संविधानले स्थानीय तहलाई अधिकारका रुपमा दिएको विषयगत काममा प्राविधिक एवं व्यवस्थापकीय क्षेत्रमा सहयोग गरेर संघीय व्यवस्थालाई सफल बनाउन साझेदार निकायहरुलाई आव्हान गरिएको छ ।

‘नेपालको संविधानबमोजिम विद्यालय शिक्षाको सञ्चालन, व्यवस्थापन लगायतका कार्य स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्छन् । स्थानीय तहको निर्वाचनपछि, स्थानीय सरकार गठन भइसकेको र स्थानीय सरकार सञ्चालन ऐन २०७४ कार्यान्वयनमा आइसकेको हुनाले जिल्ला शिक्षा कार्यालय, काठमाण्डौलाई शिक्षक सरुवा, नियुक्ति लगायतका काम नगर्न आग्रह गरिएको छ । महानगरपालिका क्षेत्रभित्रको माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकार (महानगर)को कार्य क्षेत्रभित्र गइसकेको हुनाले आयभन्दा यस प्रकारका काम भए ती कामलाई महानगर मान्न बाध्य हुँदैन’, विज्ञप्तिमा उल्लेख छ ।

विद्यालय शिक्षा विकास सम्बन्धी काम महानगरको समन्वयमा हुनु पर्ने र शिक्षा सेवाबाट उपसचिवलगायत विभिन्न श्रेणी र तहका कर्मचारी खटि आइसकेको हुनाले महानगरपालिकाबाट माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन र शिक्षा विकास सम्बन्धी कार्यक्रम हुने विज्ञप्तिमा उल्लेख छ ।