राजनीति

पार्टी एकताबारे माओवादी बैठकले गर्यो यस्तो निर्णय

काठमाण्डौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा गठनसम्वन्धी विवाद समाधान राजनीतिक सहमतिबाट खोज्नु पर्ने निष्कर्ष निकालेको छ ।

चुनावपछि सोमबार पहिलो पटक बसेको कार्यालय बैठकले राष्ट्रिय सभा गठनसम्वन्धी विवाद राजनीतिक विषय भएको भन्दै सहमतिका आधारमा निकास खोज्नु पर्ने निष्कर्ष निकालेको छ । प्रवक्ता पम्फा भुसालले भनिन्, ‘शीर्ष नेताहरु बसेर सहमति खोज्नुपर्ने निष्कर्ष निकालेका छौं, त्यसैअनुसार अघि बढ्छौं ।’

बैठकले बाम गठबन्धन बनाएर चुनावमा होमिदा परिणाम सकारात्मक आएको भन्दै पार्टी एकता र गठबन्धनलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ ।

माओवादी बैठकले नयाँ सरकार गठनका लागि छलफललाई घनिभूत बनाउने निर्णय पनि गरेको छ । ‘पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढ्छ, अब पार्टी एकता कसैले रोकेर रोकिँदैन’ पार्टी प्रवक्ता भुसालले भनिन् ।