समाचार

चुनाव हारेका वादेवम गौतमका लागि खुसीको खबर

काठमाण्डौं । वाम गठबन्धनले देशव्यापी जितको लहर निकाल्दा गठबन्धनका सुत्रधार मध्येका एक एमाले उपाध्यक्ष वामदेव गौतम भने पराजित भए । अनपेक्षित हार व्यहोरेका वामदेवका लागि एउटा सुखद संयोग जुरेको छ । उनकी पत्नी तुल्सी थापा समानुपातिक तर्फबाट सांसद बन्ने करिव पक्का छ ।

वामदेव र तुल्सी अन्तरजातीय जोडी हुन् । तुल्सीलाई महिला त्यसमाथि आदिवासी जनजाती भएका कारण उक्त कोटाबाट सांसद हुन सहज हुनेछ ।

प्राप्त मत परिणामलाई हिसाव गर्दा एमालेले समावेसी कोटा अन्तर्गत प्रतिनिधि सभामा १२ जना आदिवासी जनजातीबाट प्रतिनिधित्व गराउनु पर्छ । महिलाको कोटा पूरा गर्नका लागि पनि प्रतिनिधि सभामा ३७ जना महिला प्रतिनिधित्व थप गर्नुपर्ने देखिन्छ ।

यी दुबै कोटाले माग गरे अनुसार बन्द सूचीमा महिलातर्फको प्राथमिकतामा छैठौं नम्बरमा परेकी तल्सी सहजै छनोटमा पर्नेछिन् । कोटा पूरा गर्नका लागि राष्ट्रिय सभातर्फबाट पनि केही तालमेल मिलाउन सकिने ठाउँ छ, तर कम्तिमा ३० जनाको संख्यामा अहिले नै महिला सिट सुरक्षित गर्नुपर्ने देखिन्छ ।

यो स्थितिमा प्राथमिकताक्रममा छैठौं स्थानमा रहेकी तुल्सीका लागि समानुपातिक कोटामा सांसद बन्न बाधा छैन । त्यसमाथि उनी आदिवासी जनजाती भित्र पर्छिन् । आदिवासी जनजातीबाट कोटो पूरा गर्नका लागि एमालेले १२ जना समानुपातिक तर्फबाट सांसद थप्नु पर्ने देखिन्छ ।

एमाले उपाध्यक्ष वामदेव बर्दिया निर्वाचन क्षेत्र नम्बर एकमा कांग्रेस उम्मेद्वार संजय गौतमसँग पराजित भएका हुन् । उनको हारलाई लिएर एमालेमा खैलाबैला छ । पार्टी भित्रकै षड्यन्त्रमा उनी हारेको सम्मका चर्चा सतहमा आएका छन् । वामदेव संसद बाहिर रहेपनि उनकी पत्नी तुल्सी भने ‘माननीय’ भएर संसद छिर्नेछिन् ।