राजनीति

वामगठबन्धन तोेड्न कांग्रेसको प्रस्ताव, माओवादी नेताबाटै यस्तो खुलासा

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता बर्षमान पुन ‘अनन्त’ले वाम गठबन्धन बनाउँदा प्रधानमन्त्री र पार्टी अध्यक्ष आलोपाले गर्ने सहमति दुई पार्टीबीच भएको दावी गरेका छन् ।

‘यदि माओवादीका नेता प्रधानमन्त्री भए एमाले नेता पार्टी अध्यक्ष हुने र एमाले नेता प्रधानमन्त्री भए माओवादी नेता पार्टी अध्यक्ष हुने नै त्यो बेला सहमतिको मुख्य आधार हो,’ दि काठमाण्डू पोष्टसँगको अन्तर्वार्तामा नेता अनन्तले भनेका छन् ।

दुई कम्प्युनिष्ट पार्टीहरु नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)ले चुनाव पहिले घोषणा गरे अनुरुप दुई पार्टीबीच एकता नहुने को कि भन्ने आशंका उब्जिरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकट मानिने नेताबाट यस्तो धारणा आएको हो ।

वाम गठबन्धनलाई जनताले चुनावमा अनुमोदन गरिसकेको भन्दै नेता अनन्तले अब अन्य कुरामा लाग्न नहुनेमा जोड दिएका छन् । ‘पार्टी एकता, स्थायित्व र समृद्धिका लागि लाखौं मतदाताले समर्थन जनाएका छन्,’ उनको भनाई छ,‘ यदि कोही त्यस उदेश्य विपरित जान्छ भने त्यो देश विकास र वाम गठबन्धन मार्फत पार्टी एकतासम्म पुग्ने निर्णय विपरित हुन्छ ।’

कुराकानीका क्रममा उनले माओवादी केन्द्रलाई वाम गठबन्धन छाडेर लोकतान्त्रिक गठबन्धनसँग नयाँ सहमति गर्न कांग्रेसले प्रस्ताव गरेको समेत खुलाए ‘नेपाली कांग्रेसले वाम गठबन्धन छोडेर लोकतान्त्रिक गठबन्धनसँग नयाँ सहमति गर्न माओवादी केन्द्रलाई प्रस्ताव गरेको छ,’ उनको भनाई छ,‘ यद्यपि वर्तमान परिस्थितिमा वाम गठबन्धन तोड्ने माओवादीको कुनै चाहाना छैन् ।’