राजनीति

एमालेसँग मिल्नाले समानुपातिकमा माओवादी चिप्लियो, कांग्रेसलाई फाइदा

काठमाण्डौं । विगत एक दशकमा भएका दुई वटा संविधानसभाको चुनाव र हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा माओवादी केन्द्र सबैभन्दा बढी घाटामा गएको छ ।

२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा माओवादीले ३१ लाख ४४ हजार २०४ मत पाएको थियो । यो संख्या २०७० र २०७४ को निर्वाचनमा निरन्तर घट्दै गएको छ । २०७० को संविधान सभा निर्वाचनमा माओवादीले पहिलो निर्वाचनको तुलनामा दोब्बरभन्दा कम १४ लाख ३९ हजार ७२६ मत पाएको थियो । कूल मतदाताको संख्या बढे पनि माओवादीले यो वर्ष भएको प्रतिनिधि सभा निर्वाचनमा अझ कम १३ लाख ३ हजार ७२१ मत मात्रै पायो ।

एमाले र कांग्रेसको भोट भने बढेको छ । कांग्रेस पहिलो पटक समानुपातिक मतमा एमालेबाट पछाडि परेको छ । प्रत्यक्षतर्फको नतिजामा एमाले र कांग्रेसबीच ठूलो अन्तर देखिए पनि समानुपातिकमा भने कांग्रेस एमालेसित थोरैमात्र पछाडि छ ।

एमालेले २०६४ सालको संविधान सभा निर्वाचनमा २१ लाख ८३ हजार ३७० मत पाएको थियो । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा एमालेले २२ लाख ३९ हजार ६०९ मत पुर्‍यायो भने यस पटक ३१ लाख ७३ हजार ४९४ मत पायो ।

कांग्रेसले २०६४ सालको निर्वाचनमा २२ लाख ६९ हजार ८८३ मत ल्याएको थियो । दोस्रो संविधान सभाको निर्वाचन २०७० मा उसले २४ लाख १८ हजार ३७० मत पायो भने अहिले ३१ लाख २८ हजार ३८९ मत पाएको छ ।

चार वर्षअघिको अघिल्लो निर्वाचनभन्दा अहिलेको निर्वाचनमा कांग्रेसले ७ लाख १० हजार र एमालेले ९ लाख ३४ हजार मत बढाएका छन् । तर माओवादीको भोट भने १ लाख ३६ हजार भोट घटेको छ । यो भोट घट्नुमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा माओवादीको फुट र एमालेसँगको सहकार्यलाई लिइएको छ ।