स्वास्थ्य

चितवनको शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्रभावकारी बन्दै

चितवन– ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लाको ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा प्रभावकारी बनेको हो ।

जिल्लास्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास कार्यालयकोे तथ्याङ्कअनुसार जिल्लाभर अहिले ९ सय ०२ घर परिवारका ७८ हजार ५ सय ३६ जनाले स्वास्थ्य बीमा गरेका छन् । उनीहरुमध्ये शहरी क्षेत्रका जनता धेरै रहेको उक्त कार्यालयका प्रबन्धक सिर्जना पौडेलले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिकाका ४३ हजार ९ सय ९९, खैरहनी नगरपालिकाका आठ हजार ८ सय ३४, रत्ननगर नगरपालिकाका ११ हजार ३ सय ४१ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

यस्तै कालिका नगरपालिकाका पाँच हजार ९९, माडी नगरपालिकाका तीन हजार ४ सय ३६ र इच्छाकामना गाउँपालिकाका ५ सय ६९ जनाले स्वास्थ्य बीमा गरेका छन् । कालिका,माडी नगरपालिका र इच्छाकामना गाउँपालिका ग्रामीण क्षेत्रमा पर्छ । शहरी क्षेत्रमा शिक्षित परिवारको बसोबास भएका स्थानमा बढी मात्रामा बीमाको कार्यक्रम प्रभावकारी बन्दै गएको प्रबन्धक पौडेलले बताए ।

बीमा कार्यक्रमको प्रभावकारिताबारे ग्रामीण क्षेत्रमा जानकारी गराउन नसक्दा ती क्षेत्रमा कार्यक्रम कम प्रभावकारी भएको उनले जानकारी दिए । शिक्षित वर्ग यस कार्यक्रमप्रति सकारात्मक र सहयोगी बनेकै कारण शहरी क्षेत्रमा यसको प्रभावकारिता बढेको हो ।

पौडेलका अनुसार यो कार्यक्रम लागू भएयता बीमा गरेर सेवा लिनेको संख्या १४ हजार २०६ पुगेको छ । उनीहरुले विभिन्न अस्पतालमार्फत उपचार गराई बीमा रकम दाबी गरी लिएका छन् । बीमा गरेकाले उपचार सेवा र ९ सय २८ प्रकारका औषधि पाउनेछन् ।

कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले वार्षिक दुई हजार ५०० बीमा शुल्क भुक्तानी गरेपछि रु ५० हजारसम्मको उपचार सेवा पाउनेछन् । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ४ सय २५ थप भुक्तानी गरेपछि प्रतिव्यक्तिको रु १० हजारसम्मको उपचार सेवा थपिनेछ ।

यो कार्यक्रमको अधिकतम सीमा रु एक लाख तोकिएको छ । जिल्लामा सरकारी भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुर, खैरहनी, जुटपानी र शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र, रत्ननगर बकुलहर अस्पताल, बघौडा अस्पताल, गुञ्जमान सिंह अस्पताल र भरतपुर आँखा अस्पतालबाट सेवा लिन सकिने व्यवस्था गरिएको छ ।